भेरी अस्पताल फार्मेसीले भन्यो–‘सबै औषधि बिरामीलाई एमआरपी भन्दा कम मूल्यमा दिइरहेका छौं’

    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०७९, शनिबार

नेपालगन्जः भेरी अस्पतालभित्र संचालित अस्पताल फार्मेसीले एमआरपी भन्दा कम मूल्यमा बिरामीलाई औषधि उपलब्ध गराउने गरेको स्पष्ट पारेको छ ।

बिरामीलाई सुलभ मूल्यमा गुणस्तरीय औषधि दिने सवालमा अस्पताल फार्मेसी स्पष्ट रहेको भन्दै फार्मेसीले तोकिएको एमआरपी भन्दा कम मूल्यमा औषधि वितरण गर्ने गरेको स्पष्ट पारेको हो ।

अस्पताल फार्मेसीका इन्चार्ज पदम अर्यालले बिरामीप्रति आफुहरु अति संवेदनशील र सजक रहेकाले डाक्टरले सुझाएको भन्दा फरक औषधि दिने र चर्को मूल्य लिने कुरा आफ्नो पेशा, व्यवसाय र दायित्व विपरीत भएको बताउनुभयो ।

भेरी अस्पतालका अर्थोपेडिक विभागका प्रमुख अर्थोपेडिक सर्जन डा तिर्थेन्द्र खड्काले सामाजिक संजालमै सरकारी अस्पतालभित्र संचालित फार्मेसी सेवा प्रति सामाजिक संजालमार्फत् जनाएको असन्तुष्टिबारे स्वास्थ्य पेजले समाचार प्रकाशित गरेको थियो ।

अस्पतालभित्रका फार्मेसीहरु नेपाली जनता लुट्ने अखडा बनेको भन्दै राज्य तथा नागरिक समाजले यसतर्फ ध्यान दिनुपर्ने आश्यसहितको अभिव्यक्ति डा खड्काले सार्वजनिक गर्नुभएको थियो ।

उहाँले आफ्नो फेसबुकमा ‘नेपाल सरकार अन्तर्गतका अस्पतालहरुभित्रको फार्मेसी सेवा नेपाली जनता लुट्ने अखडाको रुपमा स्थापित हुँदैछन् । चिकित्सकले सुझाएको औषधि पूर्णत बदलेर दिने, सोझो बिरामीलाई नेपाली कम्पनीको औषधि पनि भारतीय रुपैयाँको रुपान्तरणमा लिनेलगायतका अपराधमा राज्यका निकायहरु तथा नागरिक समाजको ध्यान जाओस ।’ भनेर लेख्नुभएको थियो ।

डा खड्काको भेरी अस्पताल नखुलाई सरकारी अस्पतालभित्र संचालित फार्मेसीहरुलाई लेख्नुभएको अभिव्यक्तिपछि स्वास्थ्य पेजले अस्पताल फार्मेसीलाई डा खड्काले भनेको चिकित्सकले सुझाएको औषधि पूर्णत बदलेर दिने र सोझो बिरामीलाई नेपाली कम्पनीको औषधि पनि भारतीय रुपैयाँको रुपान्तरणमा लिने गरिएको हो र ? भनेर प्रश्न गरेको थियो ।

त्यसक्रममा अस्पताल फार्मेसी इन्चार्ज अर्यालले डा खड्काको अभिव्यक्ति कस्का लागि हो आफुलाई थाहा नभएको र त्यस अभिव्यक्तिप्रति आफ्नो कुनै टिप्पणी नभएको स्वास्थ्य पेजलाई बताउनुभयो । अर्यालले नेपाली कम्पनीको औषधि दिएर भारतीय रुपैयाँको मूल्य असुल्ने काम आफुले जानकारी पाएअनुसार कहिकतै पनि हुनै नसक्ने दावी गर्नुृभयो ।

‘डाक्टर सावले कुन बिषयमा कसरी सामाजिक संजालमा लेख्नुभयो त्यो उहाँको बिषय हो, स्वास्थ्य पेजमा डा खड्काको स्टाट्सलाई उध्रृत गर्दै प्रकाशित समाचारमा मेरो यतिमात्रै भन्नु छ–‘हामीले एमआरपी भन्दा कम मूल्यमा बिरामीलाई औषधि दिने गरेका छौं । नेपाली कम्पनीको औषधि भारतीय रुपैयाँमा रुपान्तरण गरेर विक्री गर्नु हाम्रो पेशागत मर्यादा विपरीतको काम हो । त्यस्तो काम गर्न त परै जावस सोच्न पनि सकिदैन् ।’

उहाँले उदाहरण दिंदै भन्नुभयो–‘रोजुभास्टाटिन २० रुपैयाँ एमआरपी पर्छ भने हामी १० रुपैयाँमा दिन्छौं । अर्सोडिअक्सी कोलिक एसिड भन्ने औषधि ३०० एमजीलाई ४० रुपैयाँ एमआरपी पर्छ तर अस्पताल फार्मेसीले साढे ३१ रुपैयाँमा विक्री गर्छ । एट्रोभास्टाटिन १० एमजीलाई १० रुपैयाँ ७ पैसा एमआरपी पर्छ भने अस्पताल फार्मेसीले ७ रुपैयाँमा दिइरहेको छ ।’

उहाँले अस्पताल फार्मेसीबाट दिइने सबै औषधि एमआरपी भन्दा कम मूल्यमा दिने गरिएको दावी गर्नुभयो । सबै विलिङ अनलाइन प्रणालीबाट हुने भएकाले नेपाली कम्पनीको औषधि भारतीय रुपैयाँमा रुपान्तरण गरेर विक्री गर्नु असम्भव कुरा भएको अर्यालको स्पष्टोक्ती छ ।

सर्वोच्च अदालतको आदेशपछि सरकारले बिरामीलाई सुविधा दिन, अस्पतालको आयस्रोत बढाउन र रोजगारीसमेत सिर्जना गर्न २०७२ मा हरेक सरकारी अस्पतालमा आफ्नै फार्मेसी हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैलाई टेकेर अस्पताल हाताभित्र सञ्चालित निजी फार्मेसीलाई विस्थापन गरेर अस्पतालले आफ्नै फार्मेसी संचालन गरेका छन् ।

  • २१ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech