भेरी अस्पतालका अर्थोपेडिक सर्जन डा.खड्का भन्छन्–‘अस्पतालभित्रका फार्मेसीले अपराध गर्न थाले राज्यको ध्यान जाओस्’

    • स्वास्थ्य पेज

  • २० जेष्ठ २०७९, शुक्रबार

नेपालगन्जः बिरामीलाई सुलभ मूल्यमा गुणस्तरीय औषधि दिन मुलुकभरका सरकारी अस्पताल परिसरमा सञ्चालन गरिएका फार्मेसीले सर्वसाधारणलाई राहत दिनुको सट्टा आहत गराइरहेका छन् ।

अस्पतालका डाक्टरले लेखिदिने धेरैजसो औषधि त्यहींको फार्मेसीमा हुँदैनन्, निजीमा चार गुणासम्म बढी मूल्य तिरेर औषधि किन्न सर्वसाधारण बाध्य छन् । त्यतिमात्र होइन चिकित्सकले सुझाएको औषधि पूर्णतः बदलेर अर्कै औषधि दिने गरेको तथ्य भेरी अस्पतालका एकजना चिकित्सकले सार्वजनिक गरिदिएका छन् ।

सामाजिक संजालमै सरकारी अस्पतालभित्र संचालित फार्मेसी सेवाप्रति भेरी अस्पतालका अर्थोपेडिक विभागका प्रमुख अर्थोपेडिक सर्जन डा तिर्थेन्द्र खड्काले रोष प्रकट गर्नुभएको छ ।

अस्पतालभित्रका यस्ता फार्मेसीहरु नेपाली जनता लुट्ने अखडा बनेको समेत उहाँको भनाइ छ । यहाँसम्मकी अस्पतालभित्रका फार्मेसीले सोझा विरामीलाई नेपाली कम्पनीको औषधि पनि भारतीय रुपैयाँमा रुपान्तरण गरेर असुल्ने गरेको खुलासा समेत डा खड्काले गर्नुभएको छ ।

उहाँले यस्ता अपराध कर्ममा संलग्नहरुलाई नियमन गर्न राज्यको ध्यानाकर्षण समेत गराउनुभएको छ ।

उहाँले आफ्नो फेसबुकमा लेख्नु भएको छ–‘नेपाल सरकार अन्तर्गतका अस्पतालहरुभित्रको फार्मेसी सेवा नेपाली जनता लुट्ने अखडाको रुपमा स्थापित हुँदैछन् । चिकित्सकले सुझाएको औषधि पूर्णत बदलेर दिने, सोझो बिरामीलाई नेपाली कम्पनीको औषधि पनि भारतीय रुपैयाँको रुपान्तरणमा लिनेलगायतका अपराधमा राज्यका निकायहरु तथा नागरिक समाजको ध्यान जाओस ।’

सर्वोच्च अदालतको आदेशपछि सरकारले बिरामीलाई सुविधा दिन, अस्पतालको आयस्रोत बढाउन र रोजगारीसमेत सिर्जना गर्न २०७२ मा हरेक सरकारी अस्पतालमा आफ्नै फार्मेसी हुनुपर्ने व्यवस्था गरेको हो ।

अस्पताल हाताभित्र सञ्चालित निजी फार्मेसीलाई विस्थापन गरेर सुरु गरिएका फार्मेसीमा औषधि नभएपछि बिरामी र आफन्त निजीमै धाउन बाध्य त छन नै । त्यसैमा फार्मेसीहरुको वदमासीले सोझा सिधा बिरामी ठगिनु परेको तितो यर्थाथ छ ।

 

  • २० जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech