धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य जनशक्ति उत्पादन गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न प्रक्रिया थालेको छ। प्रदेशमा अहिलेसम्म मेडिकल कलेज नभएको र सरकारी तबरबाट डिप्लोमा र त्योभन्दा माथिको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने संरचना नभएको भन्दै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि प्रदेश सरकारले नीतिगत निर्णय गरेको हो।
सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पतालको जनशक्ति तथा संरचना प्रयोग गर्ने गरी स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान बनाउनबारे नीतिगत निर्णय भएको पूर्वसामाजिक विकासमन्त्री लालबहादुर खड्काले बताउनुभयो ।
‘हामीले स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान बनाउन मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति लिएर ऐनको मस्यौदामा छलफल गरेका थियौं,’ उहाँले भन्नुभयो–‘त्यतिबेलै हामी अन्तिम चरणमा पुगेका थियौँ। मस्यौदा सदनमा लैजाने चरणमा पुगेको थियो।’
खड्का सामाजिक विकासमन्त्री भएको समयमा प्राध्यापक डाक्टर शुभेषराज कायस्थलाई सम्भाव्यता अध्ययन गर्न र आवश्यक सुझाव सहितको प्रतिवेदन तयार गर्न विज्ञको रुपमा जिम्मेवारी दिइएको थियो। प्राध्यापक डाक्टर कायस्थले तीनवटै अस्पताल मिलाएर स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान सञ्चालन गर्न सुझाव दिएको बताउनुभयो।
‘सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई एकीकृत गरेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो–‘यसो गरे जनशक्ति पनि तयार र भौतिक संरचना पनि तयार छ। सरकारले कम लागतमै जनशक्ति उत्पादन गर्न सक्छ र जनताले पनि स्तरीय स्वास्थ्य सेवा पाउँछन्।’
पूर्वमन्त्री खड्काले चालू आर्थिक वर्षभित्र नै सेती, महाकाली र टीकापुर अस्पतालमा स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको दाबी गर्नुभएको छ ।
ससरकार पुनर्गठन हुनु, स्थानीय चुनाव लगायतका कारण तयार भएको ऐनको ड्राफ्ट प्रदेश सभामा पेस हुन नसके पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान स्थापना गर्ने कुरा सरकारले अगाडि बढाउने विश्वास पूर्वमन्त्री खड्काको छ।
अहिले भने सुदूरपश्चिममा डिप्लोमा तहको स्टाफ नर्स उत्पादन गर्नसमेत नसकिएको अवस्था छ। यता संघीय सरकारले भने सेती र महाकाली प्रादेशिक अस्पतालको सहकार्यमा सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धन लिएर गेटा मेडिकल कलेज सञ्चालन गर्ने बजेट भाषणमा उल्लेख गरेको छ।