नेपालगन्ज: बाँकेको राप्तीसोनारी गाउँपालिका- ४ बैजापुरमा सिकलसेल तथा थालसेमिया रोगको स्क्रिनिङ तथा परामर्श शिबिर संचालन हुने भएको छ ।
थारु समुदायमा बंशानुगतरुपमा रहेको सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि स्क्रिनिङ तथा परामर्श शिबिर संचालन हुने लागेको हो ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बुधबार एक कार्यक्रमका बीच गाउँपालिकाका प्रमुख तप्त पौडेल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह, सिकलसेल ल्याव विज्ञ संजिव चौधरीले संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिनु भयो ।
राप्तीसोनारीमा बुधवारदेखि दैनिक रुपमा ५० जना सेवाग्राहीलाई सेवा प्रदान गर्ने गरि सिकलसेल तथा थालसेमिया रोगको स्क्रिनिङ तथा परामर्श शिबिरमा हुने छ ।
पश्चिम नेपालका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, कैलाली र कंचनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायमा सिकलसेल तथा थालसेमिया रोगको संक्रमण देखिएको छ ।
प्राय थारु जाती विशेषमा मात्रै देखिएको यो रोगको निदान र ब्यबस्थापनमा पछिल्लो समय सरकारले चासो दिन थालेको छ । सरकाराले यो रोगलाई जनस्वास्थ्य समस्याका रुपमा लिदै रोगको पहिचान पुष्टि भएकालाई रु एक लाख सहयोग गर्दै आएको छ ।