सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा के कस्ता छन् कार्यक्रम ?

    • स्वास्थ्य पेज

  • १० जेष्ठ २०७९, मंगलवार

नेपालगन्जः राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा मंगलवार आगामी आर्थिक वर्षका लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।संघीय संसदको संयुक्त बैठक ९प्रतिनिधि सभा र राष्ट्रिय सभामा अपरान्ह ४ बजे राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीति तथा कार्यक्रममा समावेश गर्न विभिन्न विषयको प्रस्ताव पठाएको थियो।

मन्त्रालयले पठाएको प्रस्तावमा दीगो विकास लक्ष्य हासिल गर्न नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९-२०८७ कार्यान्वयन गर्ने, जेष्ठ नागरिकको स्वास्थ्य सेवा सुनिश्चितताका लागि एक विशिष्टकृत अस्पताल स्थापना गरि सञ्चालन गर्ने, पुराना र जीर्ण अवस्थामा रहेका २०० बढी स्वास्थ्य संस्थाहरुको नयाँ मापदण्ड अनुसार पुनर्निर्माण गरिने, प्रत्येक नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालहरुमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गर्ने कार्यक्रम गर्न र स्वास्थ्य संस्थामा हुने सबै मृत्युको अनिवार्य अडिट गर्ने विषय रहेको छ।

यस्तै, नीति तथा कार्यक्रममा सबै स्थानीय तहका स्वास्थ्य संस्थाहरुले ४० वर्ष माथिका नागरिकको वर्षको एक पटक रक्तचाप, पिसावमा अल्बुमिन र ग्लुकोज तथा रगतमा ग्लुकोज जाँच, महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निस्शुल्क स्क्रिनिङ सेवा सुरु गर्ने, पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम विस्तार गर्ने, रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोलको स्थापना, स्वास्थ्य संस्था र स्वास्थ्य सेवाहरुको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन बोर्डको स्थापना र स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरुलाई थप मितव्ययी, व्यवस्थित र प्रभावकारी बनाउन क्षेत्रगत एकीकृत कानूनहरुको तर्जुमा गर्ने कार्यक्रम पनि प्रस्ताव गरिएको छ।

स्वदेशी औषधि उद्योगहरुलाई प्रवर्धन गर्ने, अत्यावश्यक औषधिहरु स्वदेशमै उत्पादन गर्ने, सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडको उत्पादन क्षमता अभिबृद्धि गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक औषधिहरुको आपूर्तिलाई आत्मनिर्भर बनाउने, रक्तसञ्चार सेवालाई व्यवस्थित र सर्भसुलभ बनाउन सातवटै प्रदेशमा सरकारी स्वामितवको व्लड बैंक स्थापना गर्ने, शारीरिक तथा मानसिक अपांगता भएका व्यक्तिका लागि प्रत्येक प्रदेशमा एक एक वटा पुनर्स्थापना तथा प्रसामक केन्द्र स्थापना गर्ने, सातवटै प्रदेशमा औषधि प्रयोगशाला, औषधि व्यवस्था विभागका कार्यालय स्थापना गर्ने लगायतका विषय पनि प्रस्ताव गरिएको छ।

यसैगरी, नसर्ने रोगको रोकथाम तथा नियन्त्रणको बहुक्षेत्रीय कार्ययोजना कार्यान्वयन गर्ने, सडक दुर्घटना न्युनिकरण, आत्महत्या रोकथाम का लागि विशेष कार्यक्रम लागू गर्ने, नागरिक आरोग्य अभियान मार्फत निरोगी नेपाली अभियान सञ्चालन गर्ने लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा पर्ने बताइएको छ ।यस्तै स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रस्ताव पनि नीति तथा कार्यक्रममा गरिएको छ।

  • १० जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech