शरीरका पाँच ज्ञानेन्द्रियमध्ये आँखा एक प्रमुख इन्द्रीय हो। दृष्टिविनाकाे संसार अत्यन्त दुःखद हुन्छ। विश्व स्वास्थ्य संगठनको सन् २०१९ को रिपोर्ट अनुसार विश्वमा करिब २२० करोड मानिसमा अन्धोपन वा दृष्टि कमजोरीको समस्या भएको अनुमान गरिएको छ। जसमध्ये करिब १०० करोड मानिसहरुको दृष्टि कमजोरी निको हुने खालको छ । नेपालमा २०६८ सालको अन्धोपन सर्भे अनुसार करिब ०.३५ प्रतिशत मानिसहरु अन्धोपनको शिकार भएको अनुमान छ।
त्यस्तै नेपालमा करिब ३० हजार बालबालिका अन्धोपन र करिब ३ लाख ३० हजार बालबालिकाका आँखा कमजोर अवस्थामा रहेको अनुमान गरिएको छ। त्यस्तै संसारभरि जस्तै नेपालमा पनि दृष्टि कमजोर हुने मुख्य कारण दृष्टि दोष नै रहेको र अन्धोपनको मुुख्य कारण मोतिबिन्दु रहेको छ। बालबालिकामा हुने अन्धोपनका कारणहरु मध्ये दृष्टि दोष (चश्मा प्रयोगबाट ठीक हुने), अल्छी आँखा, भिटामिन ‘ए’ को कमी, दादुरा आदिसँगै डेढो आँखा र पर्दाका समस्या प्रमुख छन्। करिब ५० प्रतिशत बालअन्धोपन सजिलै रोकथाम गर्न सकिने तथ्य विभिन्न सर्वेक्षणहरुबाट पाइएको छ। विकसित देशहरुमा जस्तै नेपालमा पनि हाल आँखाको पर्दाको रोगहरु विगतमा भन्दा धरै बढिरहेको छ।
आँखामा लाग्ने प्रमुख राेग
१. मोतिविन्दु
आँखाको भित्री नानी पछाडी रहेको लेन्समा सेतो जाली लाग्नुलाई मोतिविन्दु भनिन्छ। यो मोतिविन्दु प्रायः गरेर बुढेसकालमा हुने भए पनि बच्चामा पनि विभिन्न कारणले जन्मिँदै अथवा जन्मेको केही समय पछि देखा पर्नसक्छ। यस्तो अवस्थामा चिकित्सककोे सल्लाह लिएर समयमै शल्यक्रिया गराउनु पर्छ। यस्ता व्यक्तिलाई नजिकको स्वास्थ्य चौकी वा आँखा उपचार केन्द्रमा पठाउनु पर्दछ।
२. जलविन्दु
भित्रको तरल पदार्थको चाप बढ्न गई दृष्टि नशामा असर पुग्नाले दृष्टि क्षमतामा ह्रास आउनुलाई जलविन्दू भनिन्छ। यस्तो रोग भएका बच्चाहरुका बाहिरी नानीका आकार ठूलो हुने, आँसु बगिरहने जस्ता लक्षण देखिन्छन् भने ठूलो व्यक्तिहरुमा यसको लक्षण सुरुमा नदेखिने पनि हुन्छ र पछि बिरामीको आँखाले हेर्दा बीचमा वा छेउको दृष्टि परिधिमा कमहुुने पनि हुन्छ। यस्ता लक्षणहरु देखिएमा तुरुन्त नजिकको स्वास्थ्य चौकी वा आँखा उपचार केन्द्रमा पठाउनु पर्दछ।
३. दृष्टि दोष
यदि कसैले किताब नजिकै लगेर पढ्छ। टिभि नजिकै गएर हेर्छ, कालोपाटी वा सेतोपाटीको अक्षर हेर्दा आँखा सानो गरेर हेर्ने, पछाडी बेन्चमा बस्दा साथीको मात्र सार्ने गर्छ भने उसलाई चश्मा
लगाउनुपर्ने हुन सक्छ। आँखाले कुनै वस्तुलाई राम्ररी देख्न वा छुट्याउन नसक्नुलाई दृष्टिदोष भनिन्छ र चश्मा लगाएपछि सफा देखिने हुन्छ। यसका लागि नजिकको स्वास्थ्य चौकी वा आँखा उपचार केन्द्रमा पठाउनु पर्दछ।
४. नजिकको दृष्टि दोष
४० वर्ष कटेपछि नजिकको दृष्टि कमजोर हुन सक्छ र कुनै किताब, पत्रिका वा मोबाइल हेर्दा अलि टाढा लानु पर्ने, सानो अक्षर तथा अलि कम उज्यालोमा नदेखिने, टाउको दुख्ने आदि हुन्छ। यस्तो समस्या भएमा नजिकको देखिने पावरको चश्मा लगाउनु पर्दछ। यसका लागि नजिकको आँखा उपचार केन्द्रमा गई आँखाको पावर अनुसार चश्मा लिन सल्लाह दिनु पर्दछ।
५. आँखाको दृष्टि पर्दाको रोग
उच्च रक्त चाप भएका, परिवारमा पर्दाको रोग भएका, घाममा धेरै काम गर्नु पर्ने, ४० वर्ष उमेर पुगेका व्यक्तिहरुलाई आँखाको पर्दाको रोगको कारण आँखा धमिलो भएको हुन सक्छ। यो रोगमा एक्कासी आँखा धमिलो हुने, राति आँखा नदेखिने, बाक्लो पावरकाे चश्मा लगाउनु पर्ने आदि लक्षणहरु हुन सक्छ वा सुरुमा कुनै पनि लक्षण नदेखिने र पछि एक्कासी दृष्टि कम हुने पनि हुन सक्छ । त्यसकारण पर्दाको रोगको लक्षण वा जोखिममा भएका व्यक्तिहरु लाई कम्तिमा वर्षको एक चोटि आँखा उपचार केन्द्रमा आँखाको पर्दा जाँचको लागि सल्लाह दिनु पर्दछ।
६. अल्छी आँखा
बच्चाकोे दृष्टि शक्तिको विकास उसको हुर्काइसँगै पूर्णरुपमा विकसित हुन नसक्नुलाई अल्छी आँखा भनिन्छ। आँखा डेढो भएमा, आँखाको ढकनी तल झरेमा, समयमै दृष्टिदोषको उपचार नगरेमा अथवा जन्मजात मोतिविन्दू भएमा बच्चाको आँखा अल्छी हुन सक्छ। अल्छी आँखाको उपचार ८ वर्षको उमेरभित्र गरेमा मात्र प्रभावकारी हुन्छ। आँखा अल्छि भैसकेपछि यसको उपचार सम्भव छैन त्यसकारण समयमै बालबालिकाको आँखा जाँच गरी आवश्यक उपचार गर्न सल्लाह दिनु पर्दछ।
७. डेढोपन
सिधा उभिएर कुनेै पनि वस्तुलाई हेर्दा, एउटा वा दुवै आँखा पालैपालो छड्के हुने अवस्था लाई डेढोपन भनिन्छ । यस्तो अवस्थामा छड्के हुने आँखा कमजोर हुने तथा अल्छि हुने सम्भावना हुन्छ। यो दृष्टि दोष, आँखाको मांशपेशी कमजोर वा नशाको समस्या आदिले हुने हुन्छ। यस्तो व्यक्तिलाई आँखा उपचार केन्द्रमा आँखाको जाँचका लागि जान सल्लाह दिनु पर्दछ।
८. रतन्धो
साँझ परेपछि आँखा कम देख्ने रोग रतन्धोे हो । भिटामिन ए को कमिले तथा अन्य पर्दाका रोगहरुले यो अवस्था आउँछ। यदि भिटामिन ए को कमिको कारणले रतन्धो भएको हो भने समयमै उपचार गरेमा यो रोग निको हुन्छ। यो रोगबाट बँच्न भिटामिन ए पाइने हरियो सागपात, पहेँला फलफूल, अण्डा, कलेजो आदि प्रशस्त मात्रामा खानुपर्छ र नेपाल सरकारले ५ बर्ष मुनिका बालबालिकाहरुलाई राष्ट्रिय रुपमा वर्षको दुई चोटि भिटामिन ए खुवाउने बेलामा पनि खुवाउन सल्लाह दिनु पर्दछ।
९. आँखामा लाग्ने चोटपटक
धारिलो वस्तु, विस्फोटक पदार्थ, गुलेली, धनुषकाँडजस्ता सामग्रीहरु खेल्दा वा काम गर्दा आँखामा लाग्नसक्ने चोटपटकका कारण मानिस दृष्टिविहीनसमेत हुन सक्छन् । आँखामा चोटपटक लागेमा तुरुन्तै आँखा उपचार केन्द्रमा लैजानु पर्छ।
१०. आँखा पाक्ने रोग
बाटोमा हिड्दा, खेल्दा, मुख धुँदा आँखामा फोहर पदार्थहरु परेर आँखाको संक्रमण हुन सक्छ। यस अवस्थामा आँखा रातो हुने, चिलाउने, चिप्रा लाग्ने आदि लक्षण देखिन्छन्। यस्तो अवस्थामा तुरुन्त उपचारका लागि आँखा उपचार केन्द्रमा लैजानु पर्छ।
११. आँखाको एलर्जी
आँखाको एलर्जी आँखाहरुलाई प्रभावित पार्ने सबैभन्दा साधारण एलर्जी हो। यसले गर्दा आँखा रातो हुने, आँखा चिलाउने, आँखा दुख्ने, दृष्टि धमिलो हुने, आँखा पोल्ने र आँशु बगिरहने जस्ता लक्षण देखिन्छ। यसबाट बँच्न बच्चाहरुलाई धुलो तथा फोहाेरमा खेल्न दिनु हुँदैन। आवश्यक परेमा नजिकको स्वास्थ्य चौकी वा आँखा उपचार केन्द्रमा गई औषधोपचार गर्नु पर्दछ।
१२. रातो आँखा
रातो आँखा भन्नाले आँखाको सेतो भागमा रातो हुनु हो जुन आँखाको रक्त नसाहरु भाँचिएको वा सुन्निएकोले हुन्छ। यो आँखाका विभिन्न खतरनाक रोगहरुको संकेत पनि हुन सक्छ । त्यसकारण रातो आँखा भएमा तुरुन्त नजिकको स्वास्थ्य चौकी वा आँखा उपचार केन्द्रमा पठाउनु पर्दछ।
१३. नवजात शिशुमा आँखा पाक्ने रोग
यस रोगमा जन्मेको एक महिनाभित्र आँसु बगिरहने, आँखा रातो हुने, चिप्रा लाग्ने, आँखाको डिल सुन्निने वा टालिने हुन्छ। समयमै स्वास्थ्यकर्मीलाई देखाई उपचार नगराएमा आँखाको बाहिरी नानीमा घाउ भई दृष्टि नाश हुन सक्छ। यस्ता बिरामीलाई तुरुन्त आँखा अस्पताल पठाउनु पर्छ।
१४. आँखाको क्यान्सर
आँखाको क्यान्सर डरलाग्दो रोग हो । यसको कारणले आँखा नै निकाल्नुपर्ने मात्र नभई रोग शरीरमा फैलिएर जीवन नै खतरामा पर्ने सम्भावना रहन्छ। तर समयमै उपचार भएमा आँखा तथा जीवन बचाउन सकिन्छ । शुरुको अवस्थामा बच्चाको आँखाको भित्री नानी सेतो देखिन्छ। बच्चाको आँखामा कम पावरका टर्च साइडबाट बालेर हेर्दा वा फोटो खिच्दा यस्तो देखिएमा बच्चालाई तुरुन्त अस्पताल पठाउने व्यवस्था मिलाउनु पर्दछ।