नेपालगन्जः नेपालमा १३ प्रतिशत व्यक्तिमा पोस्ट कोभिड ट्रमाको समस्या देखिएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालले जनाएको छ।
सीएमसी नेपालको १९ औँ वार्षिकोत्सवको अवसरमा प्राविधिक निर्देशक डा पशुपति महतले आइसीयूमा पुगेका, गम्भीर अवस्थाबाट फर्किएका र आफन्त गुमाएका १३ प्रतिशत व्यक्तिहरुमा पोस्ट कोभिड ट्रमाको समस्या देखिएको बताउनुभयो। कोभिडको समयमा धेरै व्यक्तिहरु मानसिक रुपमा प्रभावित भएको उहाँले बताउनुभयो।
अमेरिकामा पनि १४ प्रतिशतमा पोस्ट कोभिड ट्रमाको समस्या देखिएको छ। डेल्टा वेभमा मानिसहरु एकदमै डराएको, आत्तिएको अवस्था थियो। अपाङ्गता भएका व्यक्तिहरु, गर्भवती महिलाहरु, घरेलु हिंसा भएका महिला र बालबालिकाहरुमा पनि यो समस्या देखिएको छ।
मनोचिकित्सक प्रा।डा सरोज ओझाले आत्महत्या र मानसिक समस्या रोकथाम गर्न सकिने बताउनुभयाृे। समयमै खुलेर समस्याको पहिचान गर्न सके आत्महत्यालाई कम गर्न सकिने उहाँको भनाइ छ अझै पनि खुलेर कुरा नगर्दा मानसिक समस्या वर्षेनी बढ्दै गइरहेको उहाँले बताउनुभयो ।
सीएमसी र एपिरोन नेपालले सन् २०२० मा संयुक्त रुपमा उदयपुर, सिन्धुली र काठमाडौं उपत्यकाका सुरक्षित आवासगृह तथा प्रहरीको महिला सेलमा सेवा लिएका तीन सय जना लैङ्गिक हिंसा प्रभावितहरुमध्ये ८८ दशमलव ३ प्रतिशतमा डिप्रेसनको समस्या पाइएको थियो। जसमा २७ दशमलव ७ प्रतिशतमा सामान्य, २५ प्रतिशतमा मध्यम र ३५ दशमलव ७ प्रतिशतमा कडा खालको डिप्रेशन भेटिएको थियो।
एक भन्दा बढी प्रकार हिंसा तथा बहुहिंसाका घटनाहरुले कडा खालको मानसिक स्वास्थ्य समस्या हुने जोखिम बढेर जाने सीएमसी नेपालले जनाएको छ। हालसम्म १४ हजार ३१९ महिला र १ हजार ६०१ पुरुष गरी १५ हजार ९२० सेवाग्राहीले एकद्धार संकट व्यवस्थापन केन्द्रबाट मनोसामाजिक सेवा तथा अन्य सहयोग लिएका छन्। जसमध्ये ४० प्रतिशतमा भावनात्मक हिंसा, २८ प्रतिशतमा शारीरिक र ९ प्रतिशतमा यौनजन्य हिंसा पीडित पाइएको थियो।
सीएमसीको सामुदायिक मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग कार्यक्रम मार्फत हालसम्म ६६ हजार ६६३ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुले उपचार पाएका छन्। जसमध्ये ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुष मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको पाइएको थियो। ४० प्रतिशतमा चिन्ताजन्य समस्या, २६ प्रतिशतमा डिप्रेशन र बाँकीमा मानसिक असन्तुलन, छारे रोग लगायत मानसिक समस्या देखिएको थियो।
दोलखा, काभ्रे, रसुवा, गोरखा, सल्यान र कैलाली गरी ६ जिल्लाका २६८ वटा सरकारी विद्यालयमा सीएमसीको विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम लागू भएको छ। करिब १० देखि १५ प्रतिशत विद्यार्थीहरुमा विशेष खालको मनोवैज्ञानिक पद्दतिको उपचार गराउनुपर्ने आवश्यकता देखिएको सीएमसीले जनाएको छ। उक्त कार्यक्रमबाट हालसम्म ६ हजार २३२ जना बालबालिकाले तालिम प्राप्त शिक्षकहरुबाट मनोपरामर्श सेवा पाएका छन्।
वैदेशिक रोगजारको कारणले चिन्ताजन्य समस्या बढाउँदै लगेको समेत पाइएको छ। ५ हजार ७४८ जनाले व्यक्तिगत मनोपरामर्श र ३० हजार ६३६ जनाले समूहमा गरिने मनोपरामर्श सेवा लिएका थिए। कुल सेवाग्राहीमध्ये ६० प्रतिशत वैदेशिक रोजगारीमा गएका व्यक्तिको श्रीमती, २१ प्रतिशत आमा, ३÷३ प्रतिशत बुवा र बालबालिकाहरु र ८ प्रतिशत वैदेशिक रोजगारमा गएका व्यक्ति थिए।
उनीहरुमध्ये ७३ प्रतिशतमा चिन्ताजन्य समस्या, १७ प्रतिशतमा डिप्रेशन, ४ प्रतिशतमा आयात र ३ प्रतिशतमा आत्महत्याको प्रयास गरेको तथा जोखिम रहेको पाइएको थियो। सुरक्षित आप्रवासन परियोजन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत २०१९ सेप्टेम्बरदेखि सञ्चालनमा छ।
हेल्भेटास नेपालसँगको साझेदारीमा सीएमसी नेपालको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको कार्यक्रमको उद्देश्य वैदेशिक रोजगारीका कारण सिर्जना भएका विविध मनोसामाजिक समस्याको न्यूनीकरण गर्नु हो।
हाल १० वटा विभिन्न कार्यक्रमहरु ५१ जिल्लाका १९६ वटा स्थानीय तहमा सञ्चालन गरिरहेको छ। मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याको पहिचान र त्यसको व्यवस्थापनको लागि सीएमसी नेपालले कार्यक्रम गर्दै आइरहेको छ।