गर्भपतन दुई तरिकाले गरिन्छ। एउटा ‘मेडिकल अबोर्सन’ र अर्को ‘सर्जिकल अबोर्सन’। ‘मेडिकल अबोर्सन’ भनेको औषधि खाएर गर्न मिल्ने हो भने ‘सर्जिकल अबोर्सन’ भनेको क्युरेट गर्ने वा सफा गर्ने हो।
औषधि खाएर सुरक्षित गर्भपतन गराउनुलाई मेडिकल अबोर्सन भनिन्छ। नयाँ प्रोटोकल अनुसार १० हप्तासम्मको गर्भलाई मेडिकल अबोर्सन गर्न सकिन्छ। तर यसको पनि केही प्रावधान छन्। जस्तो, पाठेघरमा गर्भ देखिनुपर्छ। पाठेघरमा रहेको गर्भ पतनको लागि मात्र औषधि प्रयोग गर्न सकिन्छ।
गर्भतपत गराउने भनेर सिधै औषधि किनेर खानु हुँदैन। गर्भ बस्यो तर त्यसलाई निरन्तरता दिनु छैन भने औषधि किनेर खाने प्रचलन बढेको छ। आफ्नो गोपनियता कसैलाई थाहा नहोस् भनेर यस्तो गरिएको हुनसक्छ। तर त्यसले अन्य असरहरू धेरै गर्नसक्छ।
पहिलो जटिलता केही गरी टयुबमा गर्भ बसेको छ भने रक्तश्राप भएर ट्युब फुट्नसक्छ। पूर्ण रूपले सफा नहुनसक्छ। सामान्य रक्तश्राप हो भनेर ख्याल नगर्दा हेमोग्लोबिनको कमी हुनसक्छ।
गर्भपतन गराउनै परेमा स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाह लिन सकिन्छ। निःशुल्क गर्भपतन गराउन पाइन्छ। स्वास्थ्य संस्थामा समस्या कम हुन्छ र समस्या परे पनि जुध्न सकिन्छ। अर्को कुरा कुनै पनि महिलाले गर्भपतन गराउन चाहेमा त्यो गोप्य रहन्छ।
गर्भपतन गराउने औषधि पसलमा सजिलै पाइन्छ। जसले गर्दा किन्ने अनि खाने गरिन्छ। प्यारासिटामोल खाएजस्तै खाइन्छ। औषधि पसलेले दिँदाखेरी बुझाएर कतिबेला खाने, कसरी खाने भनेर दिनु राम्रो हुन्छ। कम्तिमा एउटा अल्ट्रासाउण्ड गरेर गर्न सके राम्रो हुन्थ्यो। यस्तो गरेमा सुरक्षित गर्भपतनमा सहज हुन्थ्यो।
कुन बेलामा अस्पताल जाने भनेर महिलालाई थाहा हुँदैन। त्यो कुरा औषधि पसलेले भन्दिए राम्रो हुन्छ। यसको लागि सरकारले कडा प्रोटोकल बनाए हुने हो।
गर्भपतन भन्दा परिवार नियोजन धेरै राम्रो हो। परिवार नियोजनका साधन प्रयोग गरेमा गर्भ रहँदैन। गर्भपतनलाई परिवार नियोजनको साधनको रूपमा लिनु हुँदैन। लामो समयसम्म यस्तो औषधि खाएमा पछि प्रजनन् नहुन सक्छ।