नेपालगन्जलाई पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • स्वास्थ्य पेज

  • १० बैशाख २०७९, शनिबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका बाँकेमा पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ ।

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाह, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दलगायतको उपस्थितिमा नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले धेरै अभियानहरुमा नेपालगन्ज पछाडी रहेपनि दिगोपना घोषणामा अगाडि भएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बाँकेका आठवटा पालिकामध्ये नेपालगन्ज पहिलो पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषित भएको भन्दै अन्य पालिकालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणाको अभियानमा आफुहरु रहेको बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकालाई २०७७ सालमा पूर्ण खोप पालिका घोषणा गरिएको थियो । प्रत्येक वर्ष पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्ने गरिन्छ ।

खोप लगाउन छुटेका, विचैमा छोडेका सबै बालबालिकालाई खोपको दायरामा ल्याइएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्दले जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका योजना अधिकृत जागेश्वर बस्नेतले स्वागत गरेको कार्यक्रममा सरोज रिमालले पालिकाको अवस्थाबारेमा प्रष्ट पार्नु भएको थियो ।

  • १० बैशाख २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech