नेपालगन्जः बाँकेको कोहलपुर नगरपालिका १ कौशिलागरमा शनिवार एक दिने स्वास्थ्य शिविरको आयोजना गरिएको छ । स्वास्थ्य सरसफाई तथा कोरोना भाइरस महामारी नियन्त्रण कार्य अन्तर्गत कोहलपुर नगरपालिका १ को वडा कार्यालयको आर्थिक सहयोग तथा कौशिल्या अस्पताल प्रालिको आयोजनामा शिविर आयोजना गरिएको हो ।
उक्त शिविरमा १६० जना स्थानीयले स्वास्थ्य सेवा लिएको अस्पतालका प्रशासकिय प्रमुख शंकर न्यौपानेले जानकारी दिनुभयो । शिविरमा बालबालिकादेखि जेष्ठ नागरिकले समेत सेवा लिएका थिए ।
फिजिसियनदेखि आँखा उपचार सेवा दिइएको उक्त शिविरमा जटिल खालका समस्या देखिएका बिरामीलाई कौशिल्या अस्पतालमा रिफर गरिएको बताइएको छ ।
अस्पतालका फिजिसियन डा एन के यादव, मेडिकल अफिसर सन्तोष विसीलगायतले विरामीको स्वास्थ्य चेकजाँच गर्दै औषधि वितरण गरिएको थियो । वडाबासीलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन शिविर आयोजना गरिएको वडाअध्यक्ष गोपी खनालले जानकारी दिनुभयो ।
अस्पतालले आफ्नो सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउँदै लगेको बताउँदै अस्पतालका निर्देशक राम न्यौपानेले यस्ता स्वास्थ्य शिविरले घरदैलोमै नागरिकले सेवा पाउने भएकाले उपयोगी हुने बताउनुभयो ।