नेपालगन्जमा जनता सेवा अस्पतालको निशुल्क स्वास्थ्य परामर्श सेवा

    • स्वास्थ्य पेज

  • १० बैशाख २०७९, शनिबार

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित जनता सेवा अस्पतालले निशुल्क स्वास्थ्य परामर्श सेवालाई घरदैलो बनाउँदै लगेको छ ।

खासगरी स्वास्थ्य शिक्षाको महत्त्व र आवश्यकतालाई ध्यानमा राखेर यो अभियान सुरु गरिएको अस्पतालका मेडिकल अधिकृत कमल रस्तोगीले जानकारी दिनुभयो ।

मधेसी तथा मुस्लिम समुदायमा अझै पनि स्वास्थ्यका बारेमा चासो दिने गरिएको पाइदैन । जटिल समस्या देखिएपछि मात्रै अस्पताल पुग्ने गरेको पाइएको छ । त्योभन्दा पहिल्यै स्वास्थ्य अवस्थाबारे परामर्श दिने उद्देश्यले ठाउँ-ठाउँमा शिविरनै आयोजना गरेर पनि स्वास्थ्य परामर्श दिने गरिएको छ ।

यसैक्रममा शनिवार नेपालगन्ज उपमहानगरपालिका- ३ मा शिविर आयोजना गरियो । उक्त शिविरमा १२२ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । सुगर, ब्लड प्रेसरलगायतको जाँच गरिएको शिविरमा खटिनु भएका भेरी अस्पतालका फिजिसियन डा बिपिन आचार्यले जानकारी दिनुभयो ।

तीमध्ये ८१ जनामा सुगर देखिएको थियो । नेपालगन्जमा उपमहानगरपालिका-३ का वडाअध्यक्ष अयूव अनसारीको पहलमा गरिएको उक्त शिविर कार्यक्रमको उदघाटनमा बोल्दै वडाअध्यक्ष अनसारीले मधेसी तथा मुस्लिम समुदायलाई लक्षित गरेर जनता सेवा अस्पतालले शिविर आयोजनामा आफुले समन्वयकारी भूमिका निर्वाह गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

उहाँले आफ्नो स्वास्थ्यको अबस्थाबारे जानकारी लिन हरेक नागरिकले बेला-बेलामा चेकजाँच गर्नु पर्ने सुझाव दिनुभयो । शनिबारको शिविरमा मधेसी तथा मुस्लिम समुदायका बिरामीले सेवा लिएका थिए ।

  • १० बैशाख २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech