नेपालगन्जः माँ जानकी अस्पताल नेपालगन्जमा जटिल प्रकृतिको थाइराइड ग्रन्थीको ट्युमरको शल्यक्रिया गरिएको छ । नेपाल प्रहरी अस्पतालका इएन्टी सर्जन डा आनन्दकुमार झा र भेरी अस्पतालका इएन्टि सर्जन डा कपिल शाहीको टीमले सफलतापूर्वक शल्यक्रिया गरेको हो । तुलसीपुर उपमहानगपालिका–११ जसपुर दाङकी ४९ वर्षीया करुणा चौधरीको शुक्रबार करिव चार घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरिएको डा झाले जानकारी दिनुभयो । बिरामीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।
इएन्टि सर्जनद्धय डा झा र शाहीको जोडी
पछिल्लो समय नाक, कान र घाँटी रोग उपचार सेवामा डा झा र शर्माको जोडी जम्दै गएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ बाँकेका शाही र मनरासिस्वा नगरपालिका –४ महोत्तरी निवासी डा झाले नाक, कान र घाँटीको विरलै हुने शल्यक्रिया समेत नेपालगन्जमै गर्न थाल्नुभएको छ ।

नेपाल प्रहरी अस्पतालका इएन्टी सर्जन डा आनन्दकुमार झा र भेरी अस्पतालका इएन्टि सर्जन डा कपिल शाही
यो जोडीले नेपालगन्जमा जटिल खाले एक दर्जनबढी शल्यक्रिया गरिसकेको छ । ‘नाक, कान र घाँटीको उपचार यसैपनि संवेदनशील हुन्छ डा झा भन्नुहुन्छ–‘त्यसैमा जटिलखालको शल्यक्रिया गर्नु पर्यो भने जोखिम र चुनौति दुवै हुन्छ तर कपिलसँग सँगै भएर शल्यक्रिया गर्दा आनन्द महसुस हुन्छ ।’
सीप, क्षमता र दक्षतालाई समन्वयकारी ढंगले सदुपयोग गर्दा त्यसले गुणस्तरितालाई परिस्कृत गर्ने डा शाहीको अनुभव छ ।
भारतबाट पनि आउँछन विरामी
नेपालका विरामी भारतमुखी छन् । नेपालगन्जमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमकै रिफरल अस्पतालहरु भएपनि विरामीहरु भारतको लखनउ जानेक्रम अझै रोकिएको छैन् । तर नाक, कान र घाँटीमा समस्या भएका कैयौं विरामीहरु भारतबाट नेपाल समेत आइरहेका छन् ।
‘सस्तो र गुणस्तरिय सेवा दिएकै कारण सीमावर्ती क्षेत्रका विरामी पनि आउनेक्रम बढेको छ डा झाले भन्नुभयो–‘लखनउमै गएर उपचार गरेमात्रै सन्चो हुन्छ भन्ने चाही होइन् ।’ उहाँले नाक, कान र घाँटी सम्वन्धी अधिकांश समस्या अव नेपालगन्जमै सम्भव रहेको बताउनुहुन्छ ।
को हुन डा झा
प्राविधिक प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गर्नुभएका डा झा इएन्टि सर्जन हुनुहुन्छ । २०६६ सालमा धरानबाट एमबीबीएस गर्नुभयो । २०६८ सालमा उहाँ प्राविधिक प्रहरी निरीक्षकबाट नेपाल सरकारको जागिर सुरु गर्नुभएको हो । नेपाल प्रहरी अस्पतालमा इएन्टि विभागमा काम गर्न थालेपछि उहाँलाई नाक, कान र घाँटी विशेषज्ञ बन्ने चाहना उत्पन्नभयो ।
नाक, कान र घाँटीको उपचार र शल्यक्रिया यसैपनि संवेदनशील मानिन्छ । यो उपचार जोखिम पनि छ । प्रहरी सेवामा प्रवेश गरेपछि जोखिमसँग जुध्न र खेल्न सिक्नुभएका उहाँलाई त्यही जोखिमको बाटोलाई सहज बनाउने हुटहुटी जाग्यो । ‘नाक, काँन र घाँटी यसैपनि संवेदनशील अंग हुन उहाँले भन्नुभयो–‘यसैमा विशेषज्ञता हासिल गर्छु भनेर इएन्टि अध्ययन अगाडि बढाए ।’
२०७५ सालमा न्याम्सबाट एमडी गर्नुभएका उहाँ हाल नेपालगन्जस्थित प्रहरी अस्पतालमा प्रहरी नायव उपरीक्षककोरुपमा कार्यरत हुनुहुन्छ । विगत दुई वर्षदेखि नेपालगन्जमा बस्दै आउनुभएका उहाँले यसक्षेत्रका विरामीलाई सेवा दिँदै आउनुभएको छ ।
उहाँले नेपालगन्जमै बसेर यसक्षेत्रका नागरिकहरुको सेवा गर्ने आफ्नो चाहना रहेको बताउनुभयो । ‘महोत्तरीमा जन्मिए, त्यसैले होला यहाँको हावापानी, समाज सबै आफ्नै जस्तो लाग्छ उहाँले भन्नुभयो–‘अव नेपालगन्ज छाडेर जाँदिन, यहीनै बस्ने हो ।’