बाँकेमा आजदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप

    • स्वास्थ्य पेज

  • २३ चैत्र २०७८, बुधबार

नेपालगन्जः बाँकेमा आजदेखि टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

जिल्लामा एक लाख १५ हजार दुई सय बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालय तथा स्वास्थ्य संस्थामार्फत चल्ने यो अभियान चैत २८ गतेसम्म चल्ने छ ।

यो रोग सबै उमेर समूहका व्यक्तिहरुमा लागेको पाइएता पनि १५ वर्षमुनिका बालबालिकामा बढी हुने गरेको छ ।

बालबालिकालाई दिन लागिएको खोप कस्तो हो ?

नेपालले दक्षिण एसियामै पहिलो पटक बालबालिकालाई यस्तो खोप लगाइदिन लागेकाले यो कस्तो खालको खोप होला भनेर धेरैको मनमा प्रश्न उठिरहेको हुन सक्छ ।  सम्पूर्ण ट्रायल पास भई विश्व स्वास्थ्य संगठनले स्वीकृत भएको टाइफाइडको कन्ज्युगेट भ्याक्सिन अर्थात् खोप दिन लागिएको श्रेष्ठको भनाइ छ ।

विश्वमा टाईफाईड विरुद्धको तीन प्रकारका खोप लगाइँदै आएको छ । जसमा कन्ज्युगेट भ्याक्सिन एक हो । यो खोप ६ महिनादेखि ४५ वर्षसम्मकालाई दिइन्छ । यस्तै, अनकन्ज्युगेट भ्याक्सिन दुई वर्षभन्दा माथिकालाई मात्र दिइन्छ । यो खोप पनि एक मात्रामात्रै लगाइन्छ । अर्को टाईफाईडको लाइभ एटीनोइएटीड खोप हो । यो चार मात्रा दिइन्छ । यो खोप दुई वर्षकालाई मात्रै दिइन्छ । यी खोपमध्ये कन्ज्युगेट खोप बढी प्रभावकारी भएको चिकित्सकहरू बताउँछन् । त्यसैले विश्व स्वास्थ्य संगठनले नेपाल लगायतका विभिन्न राष्ट्रलाई  कन्ज्युगेट खोप लगाउन आग्रह गरेको छ ।

के हो टाइफाइड रोग ?

टाईफाईड एक सङ्क्रामक रोग हो । व्यक्तिको दिसाको माध्यबाट यो रोगमा देखिने जीवाणु बाहिरी वातावरणमा पुग्छ । त्यसपछि दूषित पानी र खानाका माध्यमबाट यो सर्ने चिकित्सकहरू बताउँछन् ।

टाइफाइड रोगका लक्षण यस्ता हुन्छन्

सबै उमेर समूहका व्यक्तिलाई टाईफाईड हुने भएकाले विभिन्न किसिममा लक्षणहरू देखिने चिकित्सकहरूको भनाइ छ । टाईफाईड भएका मानिसहरूमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, जिब्रोमा सेतो लेत लाग्ने, कोहीकोहीलाई पेट दुख्ने, पखाला लाग्ने, वाकवाक लाग्ने, शरीरमा रातो बिमिरा आउने लगायतका लक्षण देखिन्छन् ।

टाइफाइड खोप कसले लगाउनु हुँदैन ?

आजदेखि दिन लागिएको टाईफाईडविरुद्धको खोप कस्ता बालबालिकाले लगाउने वा नलगाउने भन्ने दोधार धेरैलाई हुन सक्छ । विगतमा खोप लगाउँदा कुनै गम्भीर प्रकारको प्रतिक्रिया देखा परेकाहरूले यो खोप लगाउन हुँदैन । यस्तै, कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएकाहरूले पनि यो खोप लगाउनु हुँदैन । एड्सको लक्षण देखापरेका अवस्थामा पनि टाईफाईड विरुद्धको कन्ज्युगेट खोप लगाउनु हुँदैन । उच्च ज्वरो आएका साथै सिकिस्त अवस्थामा भएका बिरामीले पनि यो खोप लगाउन हुँदैन ।

  • २३ चैत्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech