डा कविता सिन्हाको अनुभवः ‘छोरी, वुहारी भन्दा आमा हुँदा जिम्मेवारी बढी’

    • प्रियास्मृति ढकाल

  • २४ फाल्गुन २०७८, मंगलवार

कोहलपुरः छोरी, वुहारी र आमा भन्दा बढी जिम्मेवारी बोध के मा हुँदोरहेछ ? प्रश्न नसकिदै कविता सिन्हाले फ्याट् जवाफ दिइ हाल्नुभयो ‘आमा’ हुँदा । उहाँ दुई छोरीको आमा हो । एउटी छोरी साढे तीन वर्षकी भइन् अर्की साढे पाँच वर्षकी ।

चिकित्सकहरुले आमा बन्नेहरुलाई सुझाव दिन्छन् एउटा सन्तान जन्माएको दुई वर्षको अन्तरालमामात्रै अर्को सन्तान जन्माउनुहोला । कविता स्वयम डाक्टर नै भएकाले पनि होला उहाँको दोस्रो सन्तानको अन्तर ट्याक्कै दुई वर्ष छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरकी कन्सल्टेन्ट स्त्रीरोग विशेषज्ञ डा कवितालाई छोरी, वुहारी र आमा यी तिनवटै जिम्मेवारीको अनुभूति छ । सर्लाही वलरामा डा कम्लेश्वर कुमार सिन्हा र आमा अमिताको कोखबाट तेस्रो सन्तानकारुपमा २०४० साल माघ २९ गते कविताको जन्म भएको हो ।

उहाँका दुवै दाजुभाई इन्जिनियर । एकजना अमेरिका र अर्का अष्ट्रलियामा हुनुहुन्छ । कविताले पाल्पाको तानसेनस्थित न्यू होराइजनबाट विस २०५५ सालमा एसएलसी पास गर्नुभयो ।

भिएस निकेतन काठमाडौंबाट २०५७ सालमा पसल टु पास गर्नुभयो । उहाँको वुवाको सपना थियो छोरीलाई डाक्टर बनाउने । बुवाको त्यही सपनामा कविताको चाहना फुल्दै गयो । अध्ययनका लागि दाईहरु विदेश गएपछि आमा बुवाको रेखदेख गर्ने जिम्मेवारी कविता आफैले महसुस गरिसक्नुभएको थियो ।त्यसैले पनि उहाँलाई विदेशमोह भएन् ।

त्यही भएर उहाँले आफ्नो पारिवारिक जिम्मेवारीसँगै वुवाको चाहनालाई मूर्तरुप दिन पलस टुपछि एमविविएस पढ्ने निष्कर्षमा पुग्नुभयो र, काठमाडौं मेडिकल कलेज भर्ना हुनुभयो । उहाँले २०६४ सालमा एमविविएसमा उर्तिण गर्नुभयो ।

एमविविएस गरिसकेपछि स्त्रीरोग विशेषज्ञ नै बन्ने उहाँको चाहनाभयो । उहाँले महिलाका समस्यालाई नजिकबाट नियालिसक्नुभएको थियो । त्यसैले उहाँले नेपालगन्ज मेडिकल कलेजमा स्त्रीरोगमै एमडी गर्ने योजनासहित पढाई थाल्नुभयो ।

त्यहीबेला उहाँको डा सुभाष पाण्डेसँग विहेभयो । विहेपछि घरपरिवार र पढाई सँगसँगै अगाडि बढाउनु पर्ने उहाँलाई चुनौति थियो । तर पढ्नु पर्छ भन्ने सोचको विकास भएका श्रीमानको साथ, घरपरिवारको हौसलाले उहाँलाई असहज भएन् ।

‘विहे हुँदैमा पढाई रोकिने भन्ने हुँदैन् उहाँले भन्नुभयो–‘आफ्नो इच्छाशक्ती र परिवारको साथ हुने हो भने विहेले पढाई छेक्दैन् ।’ उहाँले २०७१ सालमा नेपालगन्ज मेडिकल कलेजबाट एमडी गर्नुभयो ।

करिव १५ वर्षदेखि डाक्टरी पेशामा आवद्ध उहाँले कन्सल्टेन्ट गाइनोक्लोजिष्ट भएर सेवा गरेकै साढे ६ वर्ष भइसकेको छ । श्रीमान श्रीमतिको एउटै पेशा भएरपनि होला एक आपसका समस्या र बाध्यताबारे उहाँहरुलाई राम्रोसँग थाहा छ । उहाँका श्रीमान सुभाष बर्दिया जिल्ला अस्पतालका मेसु हुनुहुन्छ । सुभाष पनि घरका एक्ला छोरा हुनुहुन्छ ।

छोरी हुँदा बुवाआमाले गरिहाल्नुहुन्छ नि भन्ने लाग्थ्यो तर बुहारी भइसकेपछि त्यो सुविधा चाही नहुने रहिछ कविताले भन्नुभयो–‘सबै व्यवस्थापन गर्नुपर्ने । बुहारीको जिम्मेवारी बढी हुनेरहिछ ।’

बुहारी भन्दा आमा भएपछि जिम्मेवारीले थप थिच्ने रहिछ । कवितालाई यसको महसुस राम्रै तरिकाले छ । घरकी एउटी छोरी भएपनि उहाँले आमालाई घरायसी काममा नसघाएको भने होइन् । विहेबारी भएपछि त झन घरायसी काम लगभग सबै गर्नै पर्यो । अहिले आमा हुँदा पनि उहाँले आफ्नो घरायसी धन्दालाई छोड्नुभएको छैन् ।

‘जसले जतिसुक्कै भनेपनि महिलाहरुले खाना पकाउनै पर्छ । कपडा धुनै पर्छ उहाँले भन्नुभयो–‘अहिलेपनि म ६ बजे उठ्छु । एकछिन मर्निङ वाक गर्छु । अनि फ्रेस हुन्छु । खाना बनायो । खाना खायो । छोरीहरुलाई टिफिन तयार पार्यो । विद्यालय पठायो । ९ बजे अस्पतालमा जान्छु ।’

कहिलेकाही इमरजन्सी केशहरु आउँदा उहाँको यो रुटिङ प्रभावित हुने गरेको छ । त्यतिबेला कवितालाई ठूलो चिन्ता हुन्छ । छोरीहरुले खाए होलान कि छैनन् होला ? पढेका होलान कि छैनन् होला ?

सायदै यिनै कुराले उहाँलाई छोरी, वुहारी हुनुभन्दा आमा हुनुको बढ्दा जिम्मेवारी बोध भएको । वुवा आमाको हौसल, श्रीमानको साथ र सहयोगका कारण आफुलाई घरायसी र पेशागत दुवै जिवनमा सफलता मिलेको उहाँको भनाइ छ ।

यो सफलतालाई पुष्टि गर्ने आधारपनि छन् त्यो हो लुम्बिनी प्रदेश सरकारले प्रदान गरेको समाज सेवा पदक । त्यस्तै कविता प्रोफेसर डिएसएम वेष्ट रेसिडेन्ट अवार्डबाट पनि सम्मानित हुनुभएको छ ।

छोरीहरुको भविष्य बुवाआमाको हातमा हुन्छ । छोरीलाई पढाउनु पर्छ भन्ने चेतना हरेक आमाबुवाको हुने हो भने र त्यसलाई व्यवहारिक जिवनमा उतार्न सकियो भने नारीहरु परिवार तथा समाजबाट पिल्सिन नपर्ने उहाँको भनाइ छ । शिक्षाको ज्योतिबाट छोरीहरुलाई बन्देज गर्नुनै नारी स्वतन्त्रतामाथिको पहिलो पर्खाल भएको डा कविताको बुझाइ छ ।

  • २४ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech