नेपालगन्जः दाङको लमही अस्पतालमा सल्यक्रियामार्फत प्रसूति सेवा पुनः सुरु भएको छ । लमही नगरपालिका – ७ निवासी नर्मता चौधरीको शल्यक्रियामार्फत बच्चा निकालिएसँगै अस्पतालमा पुन प्रसूति सेवा भएको हो ।
घरमा प्रसूति हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्छ। त्यही भएर सरकारले अस्पताल अथवा स्वास्थ्य संस्थामा प्रसूति गराउन जोड दिँदै आएको छ। यो अभियानले सार्थकता पाएको छ। घरमा हुने प्रसूतिलाई न्यून गर्ने अभियान तीव्र बनेको छ।
बर्थिङ सेन्टरमा सामान्य अवस्थाको प्रसूति सेवा छ। सल्यक्रिया गर्नुपरेमा अन्यत्र रिफर गर्नुपर्छ। देउखुरीका बर्थिङ सेन्टरहरुले लमही अस्पतालमा रिफर गर्दै आएका छन्।
लमही अस्पतालमा विगत एक वर्षदेखि सल्यक्रियामार्फत गरिने प्रसूति सेवा सञ्चालनमा छ। केही दिन सेवा रोकियो। फागुनबाट यो सेवा पुनः सञ्चालनमा आएको लमही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रञ्जिता महतोले बताउनुभयो ।
लमही नगरपालिकाले निक साइमन इन्स्टिच्युटसँग सम्झौता गरेको छ। यसअघि भएको सम्झौताको समयावधि सकिएको थियो। जसले गर्दा केही समय प्रसूति सेवा रोकिएको थियो। थप सम्झौतापश्चात सेवाले निरन्तरता पाएको छ।
देउखुरीमा चार स्थानीय तह छन्। यी तहले बर्थिङ सेन्टर सञ्चालन गरेका छन्। तर, जटिल प्रकारको प्रसूति गराउनुपरेमा घोराही, तुलसीपुर, बुटवल, नेपालगञ्ज पठाउनुपर्ने बाध्यता छ।
कतिले अस्पताल पुग्दा नपुग्दै बाटोमै शिशु जन्माउने गरेका छन्। कतिपय आमा तथा तिनका परिवार स्वास्थ्यकर्मीले दिएको समय नजिकिएपछि सुविधा सम्पन्न अस्पताल खोज्दै जाने गरेका छन्। जो गरिब र विपन्न छ, ती परिवार सुविधा सम्पन्न अस्पतालसम्म पुग्न सक्दैनन्।
लमही अस्पतालमा सल्यक्रियामार्फत प्रसूति सेवा सुरु भएपछि अन्य बर्थिङ सेन्टरलाई यहाँ रिफर गर्न सजिलो भएको छ।