महिनावारी हुँदा शिक्षिका विद्यालय नजाने समस्या हट्यो

    • स्वास्थ्य पेज

  • २३ फाल्गुन २०७८, सोमबार

नेपालगन्जः बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–८ रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा देवता रिसाउने डरले महिनावारी भएका बेला विद्यालय जान नपाउने शिक्षिकाको समस्या समाधान भएको छ ।

सोही नगरपालिका–८ को विद्यालयमा वडाध्यक्ष प्रकाश रावलको नेतृत्वको टोलीले स्थानीय बुद्धिजीवी तथा विभिन्न स्थानका धामीसँग परामर्श गरी देवता हेराउँदा विद्यालयमा प्रवेशमा कुनै बाधा नहुने गरी देवताले अनुमति दिइसकेको मष्टा देउताका पुजारी गङ्गा रावलले बताउनुभयो ।

उहाँका अनुसार कैलाश देवता, भेराल मष्टालगायत अन्य देवताका धामीलाई हेराउँदा सबैले छाउ भएका छात्रा र शिक्षिकालाई विद्यालयमा जान दिन पाउने गरी गरी समस्या समाधान गरिएको पुजारी रावलले जानकारी दिनुभयो ।

वर्षौँदेखि महिनावारी हुने शिक्षिकाले पाँच दिनसम्म विद्यालय नजाने गर्दै आएका थिए । कु–प्रथाकारुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि बडीमालिका नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रम ल्याएको थियो ।

सोही कार्यक्रम अनुसार उक्त वडालाई छाउपडी गोठमुक्त घोषणा गर्ने तयारी थाल्नाका साथै शैक्षिक संस्थामा समेत शिक्षिकाले छाउ भएका बेला विद्यालय जान नपाउने समस्या समाधान गरिएको वडाध्यक्ष रावलले बताउनुभयो।

पटक–पटक विभिन्न सञ्चारमाध्यममा छाउ हुँदा शिक्षिका पाँच दिनसम्म विद्यालय जादैनन् भन्ने समाचार आएपछि वडाले गाउँका बुद्धिजीवी, ज्येष्ठ नागरिक र कैलाशलगायतका धामीसँग परामर्श गरी हेराउँदा विद्यालय जान दिनेगरी देवता खुसी भएको पुजारी रावलको भनाइ थियो ।

रतुडा गाउँमा रहेको विद्यालयमा विगतमा छाउ भएका बेला अध्यापन गराउँदै आएका दुई शिक्षिका चार दिनसम्म विद्यालयमा जानबाट बञ्चित हुँदै आएका थिए । छाउ हुँदा विद्यालय जान नपाएपछि विद्यार्थीले नियमित पठनपाठन गर्न नपाउँदा स्थानीय धामी, वडा कार्यालय र बुद्धिजीवीको सक्रियतामा समस्या समाधानको उपाय निकालिएको नगरपालिकाकी उपप्रमुख कविता विष्टले बताउनुभयो ।

बालबालिकालाई शिक्षाबाट बञ्चित गराउने र महिनावारी भएका बेला शिक्षिकाले पनि विद्यालय जान नपाउने समस्या समाधान भएकामा उनले खुसी पनि व्यक्त गर्नुभयो ।

  • २३ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech