नेपालगन्जः बाँकेमा आमा मृत्युदरको संख्या विकराल देखिएको तथ्याङ्क सार्वजनिक भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार गएको वर्षमा बाँकेमा ४७ जना आमाले ज्यान गुमाएका छन् ।
तीमध्ये बाँकेका जिल्लाका मात्रै २५ जना छन् । अन्य २२ जना अन्यत्र जिल्लाका आमा भएको भएपनि बाँकेमै मृत्यु भएकाले त्यो संख्या पनि स्वास्थ्य कार्यालय बाँकेकै रेर्कडमा उल्लेख गरिएको पब्लिक हेल्थ नर्स बिष्णु श्रेष्ठले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ०७७/७८ मा बाँकेको डुडुवा गाउँपालिकाका ७ जना, नरैनापुर र जानकी गाउँपालिकाका ५/५ जना, नेपालगन्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिकाका ३/३ जना र खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकाका १/१ जनागरी २५ जना आमाको मृत्यु भएको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा मात्रै १६ जना आमाले मृत्युवरण गरेका छन् । गएको साउनदेखि पुष मसान्तसम्म १६ जना आमाको मृत्युभइसकेको श्रेष्ठले बताउनुभयो ।
समयमै अस्पताल नपुग्नु, घरमै सुत्केरी हुँदा अत्यधिक रक्तश्रावलगायतका कारणले आमाको मृत्यु हुने गरेको तथ्याङ्कमा उल्लेख छ । सुगम जिल्ला भएपनि बाँकेमा आमामृत्यु दर अस्वभाविक देखिएको भन्दै यसको रोकथाम निकै चुनौतिपूर्ण देखिएको छ ।
अस्पतालमा सुत्केरी भएर घरमा गएका आमाको समेत मृत्यु भएका घटना धेरै रहेको हेल्थ नर्स श्रेष्ठले बताउनुभयो । नियमित स्वास्थ्य जाँचको अभाव, परिवारको आवश्यक हेरचाहको कमी र कम उमेरमा गर्भवती हुँदा आमा सुरक्षाको जोखिम बढी देखिएको छ ।