बर्दिया जिल्ला अस्पतालका एक्ला सर्जन, जस्ले एकैदिन गरे १७ वटासम्म शल्यक्रिया

    • प्रियास्मृति ढकाल

  • २२ फाल्गुन २०७८, आईतवार

नेपालगन्जः हर्नियाको समस्या बल्झिदै गएपछि बर्दिया गुलरियाका फिरु थारु असह्य पीडा हुनुहुन्थ्यो । उहाँको आन्द्राको केही भाग कुहिएको (सडेको) थियो । सडेको भाग फालेर आन्द्रालाई पुनः जोड्नुको एकमात्र विकल्प थियो ।

‘निकै क्रिटिकल केश थियो चार वर्ष अघिको स्मरण गर्दै बर्दिया जिल्ला अस्पतालका जनरल सर्जन डा.विजय उपाध्यायले स्वास्थ्य पेजसँग भन्नुभयो–‘विरामीको त्यो अवस्था हेरेर मेरो हिम्मतै आएन ।’ तर विरामीका आफन्तको त्यो रोदन र आग्रहपछि उहाँलाई शल्यक्रिया गर्नै पर्ने दवाव बढ्यो ।

विरामीको अवस्थाबारे सुरुमा अस्पताल प्रमुख डा सुभाष पाण्डेलाई व्रिफिङ गर्नुभयो । डा पाण्डेले सहमति दिएसँगै डा उपाध्याय शल्यक्रियाका लागि तयार हुनुभयो । ‘शल्यक्रिया सफल भयो उहाँले भन्नुभयो–‘एक किसीमले भन्ने हो भने मृत्युको मुखमा पुगिसकेका थारुको ज्यान जोगियो । उहाँको जिवन बाँचेकोमा त्योभन्दा खुसी र आनन्दको अनुभूति एउटा चिकित्सकलाई सायदै मिल्छ ।’

६१ वर्षीय थारु अहिलेपनि अस्पतालमा आउने गर्नुहुन्छ । निको भएपछि बिरामीहरु कहाँ पुग्छन्, कस्तो हुन्छन् डाक्टरलाई पनि अपडेट हुँदैन । तर डा उपाध्यायमार्फत उपचार पाउनेहरुले भने डा उपाध्यायलाई कहिल्यै बिर्सिदैनन् । बर्दिया जिल्ला अस्पतालमा काम गर्न थालेपछि चार वर्ष अघि उपचार गरेका तिनै बिरामी घ्यु बोकेर भेट्न आउँदा खुसी लागेको उहाँले बताउनुभयो ।

‘थारु घ्यु बोकेर आउनुभएछ,’ डा उपाध्यायले भन्नुभयो–‘तपाईंले मेरो अप्रेसन गरेर ज्यान जोगाइदिनुभयो भन्नुभयो । त्यतिबेला असाध्यै खुसी लाग्यो ।’ अस्पतालका एक्ला सर्जन डा उपाध्यायले जिल्ला अस्पतालमा बसेर यस्ता जटिल खाले शल्यक्रिया गरेर थुप्रै बर्दियालीबासीको ज्यान जोगाउनुभएको छ ।

आन्द्रा फुटेर असह्य पीडामात्र होइन मृत्युको मुखमा पुगेका विरामीको तत्काल गर्नुपर्ने शल्यक्रिया डा उपाध्यायबिना सम्भव छैन् । ‘तीन चार वटा यस्ता केशहरु अस्पतालमा आएका छन् उहाँले भन्नुभयो–‘सफलतापूर्वक शल्यक्रिया गरेर उनीहरुको ज्यान जोगिएको छ ।’

डा उपाध्याय र डा पाण्डे जोडी
सर्जन डा उपाध्याय जानु अघि बर्दिया जिल्ला अस्पतालको अवस्था विजोग थियो । जिल्लाको एउटामात्रै अस्पतालमा न पर्याप्त जनशक्ति न त उपकरण । नर्मल खाले शल्यक्रियाबाहेक अरु सुविधा केही थिएन ।

उपकरण नै नभएपछि कसरी सेवा दिनु ? डा उपाध्यायलाई आफै नैराश्यता भइसकेको थियो । डा उपाध्याय हाजिर भएको दुई तिन महिनापछि डा सुभाष पाण्डे अस्पतालको निर्देशक बनेर आउनुभयो । त्यसपछि भने डा उपाध्याय र डा पाण्डेबीचको जोडि जम्यो ।

डा उपाध्याय र डा पाण्डे

अस्पतालको श्रीवृद्धि र जनतालाई गुणस्तरीय सेवा दिनु पर्ने डा पाण्डेको त्यो हुटहुटी डा उपाध्यायसँग मेल खायो । निर्देशक डा पाण्डेले तत्काल सर्जरीका लागि आवश्यक उपकरण खरिद गर्न डा उपाध्यायलाई स्वीकृत दिनुभयो ।

त्यसपछि डा उपाध्यायले हातको सफाई गर्ने अवसर पाउनुभयो । यसैपनि डाक्टरका हातहरु सफा र क्लिन हुनुपर्छ । शल्यक्रियामा पनि हातहरु त्यतिकै सफा र क्लिन हुनुपर्छ । अर्थात निपुण हुनुपर्छ । डा उपाध्यायका हातहरु शल्यक्रियामा त्यसैगरी निपुण भए । अहिलेसम्म तिनै हातहरुले सयौं बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिसकेका छन् ।

तत्कालिन बुटवल अंचल अस्पताल, कान्तिवाल अस्पताल, वीर अस्पताल, नेपालगन्ज शिक्षण अस्पताललगायतका चलेका अस्पतालको अनुभव संगाली सक्नुभएका डा उपाध्यायले बर्दिया अस्पतालमा एकैदिन १७ वटासम्म शल्यक्रिया गर्नुभएको छ ।

एपेन्डीसाइड, हर्निया, हाइड्रोसिल, पाइल्सलगायतका समस्या भएका विरामी जिल्ला बाहिर जानु पर्ने बाध्यता डा उपाध्यायले तोडिदिनुभएको छ । ‘विरामीलाई हामीले सत प्रतिशत गुणस्तरीय सेवा दिने हो, उहाँले भन्नुभयो–‘अभावकाबीच पनि हाम्रो सेवा अब्बल बनाएका छौं ।’

यो अस्पतालमा महिनामा ४० बढीले शल्यक्रिया सेवा लिइरहेका छन् । ओपिडी सेवा लिनेको संख्या त थामिनसक्नु जस्तै छ । निर्देशक डा पाण्डेको चुस्तदुरुस्त म्यानेजमेन्ट र उत्साहित गर्ने व्यवहारका कारण अस्पतालको चेहरा फेरिएको अनुभव छ डा उपाध्यायको ।

त्यही भएर त यो अस्पताल कार्य सम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेशकै पहिलो बन्न सफल भयो । लुम्बिनी प्रदेश सरकारबाट प्रदेश सेवा समर्पण पदकधारी डा उपाध्यायलाई एउटा कुराको अभाव भने खट्कीरहेको छ, त्यो हो एनेस्थेसियोलोजिष्ट अर्थात शल्यक्रिया गर्नुअघि विरामीलाई वेहोस बनाउने चिकित्सक । कार्यसम्पादन मूल्यांकनमा प्रदेशकै पहिलो बन्न सफल यो अस्पतालमा एनेस्थेसियोलोजिष्टको भने अभाव छ ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनबाट पदक ग्रहण गर्दै डा विजय

अव कान्ति आयोग्य अस्पतालमा पनि
जनरल सर्जनमा आफुलाई अब्बल बनाउँदै बर्दियाबासीलाई निरन्तर सेवा दिदै आउनुभएका डा उपाध्याय पछिल्लो समय नेपालगन्जमा कान्ति आरोग्य अस्पतालमा पनि आवद्ध हुनुभएको छ । दिउँसोको समयमा बर्दिया जिल्ला अस्पतालमा सेवा दिने गर्नुभएका उहाँले विहान र अपरान्हपछि भने कान्ति आरोग्य अस्पतालबाट विरामीलाई सेवा दिन थाल्नुभएको छ ।

कोहलपुरपछि नेपालगजमा पहिलो पटक दूरविन प्रविधिबाट पित्त थैलीको शल्यक्रिया सेवा डा उपाध्यायमार्फत सुरु भएको छ । नेपालगन्जको सुर्खेतरोडमा रहेको कान्ति आरोग्य अस्पतालले बाँकेको नेपालगन्जमा पहिलोपटक दूरविन प्रविधिबाट पित्त थैलीको शल्यक्रिया सेवा सुरु गरेको हो । सर्जन उपाध्यायको टीमले दूरविनबाट चारजनाको पित्त थैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

नेपालगन्जमा यो पहिलो सेवा भएको जानकारी दिँदै उहाँले दूरविन प्रविधिबाट गरिने सेवा अतिनै प्रभावकारी र कम खर्चिलो रहेको समेत बताउनुभयो । ‘दूरबिन प्रविधिबाट शल्यक्रिया गर्दा बिरामीलाई कम पीडा हुन्छ उहाँले भन्नुभयो–‘घाउ संक्रमण हुने तथा पाक्ने समस्या पनि न्यून हुन्छ ।’

पीडा कम हुनाले शल्यक्रिया गरेको ४ देखि ६ घन्टामा बिरामी हिँडडुल गर्न थाल्छन् । सामान्य मानिससरह खानेकुरा खान सकिन्छ । शल्यक्रिया गरेको ४८ देखि ७२ घन्टामा बिरामी सामान्य कामकाज गर्न सक्ने उहाँको भनाइ छ ।

  • २२ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech