आजभोलि नर्सिङ पेसा अस्ट्रेलिया र अमेरिका उड्ने हवाईजहाजको टिकट नै बनेको छ। कतिपय बाबुआमा त गर्व गर्छन् जब छोरी नर्सिङ पढेर आफ्नो परिवारै लिएर विदेश बसाइ सर्छन्।
विशेषगरी अनुभवी नर्सहरूलाई विदेशमा राम्रा अवसर दिने गर्छन्। किनकि त्यहाँको सरकारले नर्सको बिरामी रेखदेख र उपचारमा ठूलो गुणात्मक प्रभाव छ भनेर थाहा छ र त मूल्यांकन पनि राम्रै गर्छ।
विश्वको जुनसुकै समाजमा पनि नर्सहरूले खर्चेको समय, लगाव र जनस्वास्थ्यमा पारेको सकारात्मक प्रभाव हेर्ने हो भने त्यो वर्णन नै गर्न नसकिने अतुलनीय छ। जुनसुकै समयमा पनि चाहे अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा होस् या त ठूला महामारी होस, इतिहासमा नर्सहरूले मानव जीवन र स्वास्थ्यका लागि खर्चेको देन अविस्मरणीय छ। इतिहासमा नाइटिंगेलले गरेको देनको बारेमा त नेपालमा शिक्षा नै दिने गरिन्छ।
अहिलेको कोभिड महामारीको बेलामा हेर्ने हो भने राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै सबैभन्दा बढी खतरा मोलेर जीवनको पर्वाह नगरी फ्रन्टलाइनमा लगातार खटिएर जनजीवनको रक्षा गर्ने स्वास्थकर्मीहरू मध्य नर्सहरू पर्दछन्। यद्यपि के नर्सहरूको योगदानको विभिन्न राष्ट्रहरूमा राम्रो मूल्यांकन भएको छ? अनि नेपालमा नर्सहरूको कामप्रतिको दृष्टिकोण परिवर्तन भएको छ? उनीहरूको काम सम्बन्धी वातावरण, आर्थिक आम्दानी र काम सम्बन्धी स्वास्थ्यमा राज्यको प्राथमिकता रहेको छ?
फरक-फरक देशमा फरक-फरक अस्तित्व
नर्सहरू विश्वका सबैजसो राष्ट्रहरूमा, उत्तिकै वर्ष विश्वविद्यालय पढेर अपनाइएका पेसाहरू जहाँ पुरुषहरूको संख्या बढी छ, ती पेसासँग दाँज्दा तलब, सुविधा र काम सम्बन्धी वातावरणमा गरिने लगानीमा निकै तल पर्दछन्।
विद्यावारिधी गर्दै गर्दा मेरो पढाइ पनि नर्सहरू, मिडवाइफ तथा सहायक नर्सहरूको स्वास्थ्य प्रवर्द्धन सम्बन्धी अध्ययन हो। मैले धेरै नर्सहरूसँग नेपाल र स्वीडेनमा प्रत्यक्ष कुरा र रिसर्च गरेको छु। नेपालमा हेर्दा केही ठूला सरकारी, गैर-सरकारी र धेरै नाफामूलक खर्चालु अस्पतालहरूमा मात्र नर्सको तलब सुविधा राम्रो देखिएको छ। सरसर्ती बुझ्दा ८० प्रतिशत नर्सहरूको आर्थिक अवस्था न्यून स्तरकै रहेको पाइएको छ।
धेरैजसो अस्पतालहरू काठमाडौंमा भएकाले व्यापारिक दृष्टिकोणले खोलिएका स-साना अस्पतालहरूको अवस्था हेर्दा नर्सहरूको तलब र सुविधा यति कमजोर बनाइएको छ कि सुन्नेलाई पनि लाज लाग्ने जस्तो। कत्तिपय अस्पतालले त पिसिएल नर्सिङ गरेकाहरूलाई १० हजार रुपैयाँदेखि तलब सुरुआत गरेको पनि पाएँ। यसलाई अब काम भन्ने कि श्रमशोषण? कि समाज सेवा भन्ने?
एकातर्फ व्यापारिक कलेजमा लाखौँ खर्च गरेर नर्स बन्नु पर्ने बाध्यता भने अर्कोतर्फ व्यापारिक अस्पतालको व्यापार बढाउन १२ घन्टा काम गरेर अत्यन्तै न्यून तलबमा काम गर्नु पर्ने बाध्यता।
नर्सिङ एक स्वतन्त्र र स्वायत्त पेसा
नाइटिङ्गेलले १५० वर्षअघि नै सुरु गरेको आत्मनिर्भरताको रक्षा गर्न नर्सिङ पेसालाई धेरै समय लाग्ने देखिन्छ। धेरै राष्ट्रहरूमा लाइसेन्स लिएर छुट्टै पेसाको रुपमा नर्सको पेसा स्थापित भएको भएता पनि धेरै राष्ट्रहरूमा नर्सलाई डाक्टरको काम गर्ने साथीभन्दा पनि डाक्टरको काममा सघाउने असिस्टेन्ट या सहयोगीको रुपमा व्यवहार गरिनु र तलब सुविधा पनि त्यत्तिकै न्यून पारिनुले पेसालाई स्वायत्त पेसाको रुपमा विकसित हुनबाट अंकुश लगाइएको छ।
बिरामीहरूको उपचार, स्वास्थ्य र सुरक्षाको लागि विभिन्न क्षमता भएका र फरक फरक ज्ञान हासिल गरेका डाक्टर, नर्स, सहायक नर्स, फिजियोथेरापिस्ट र अकुपेश्नल थेरापिस्टहरूको सामुहिक आपसी सहयोगको कारण मात्र सफल हुन सम्भव छ। सबै सबैको कामका सहयात्री र सबैको उद्देश्य बिरामीको उपचार र स्वास्थ्य प्रवर्द्धन नै हो।
तसर्थ सबैको सहकार्य र आपसी सहयोगमा चलेको स्वास्थ्य संगठन बलियो, भरपर्दो र दीर्घकालीन बन्न सक्छ। जहाँ नर्सहरू स्वतन्त्र आफ्नो पेसाको परिधिभित्र बसेर काम गर्न पाउँछन् त्यहाँ बिरामी या उपचार या स्वास्थ्य प्रवर्द्धनको लागि आएका मानिसहरू सन्तुष्ट हुनुको साथै उनीहरूको स्वास्थ सुरक्षामा महत्वपूर्ण भूमिका खेलिने वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ।
स्वतन्त्र काम गर्न पाउने व्यवस्था गरिएको र त्यसलाई व्यवहारमा पनि कार्यान्वयन गरिएका देशहरूबाट नर्सहरूले बिरामी, उनीहरूका आफन्तका स्वास्थ्य प्रवर्द्धन गर्नुको साथै नर्सहरू आफ्नो पेसा र काममा आत्मनिर्भर बन्न सक्ने देखिएको छ।
नर्डिक राष्ट्रहरूमा दुई दशकभन्दा बढी नर्सिङ पठनपाठन लगायत पेसालाई स्वतन्त्र पेसाको रुपमा विकसित गर्न अत्याधिक प्रयास भएको पाइन्छ। नर्डिक राष्ट्रहरूबाहेक युरोप, अमेरिका र अस्ट्रेलियाजस्ता विकसित राष्ट्रहरूमध्य केही राष्ट्रहरूमा नर्सिङ स्वतन्त्र विषय र पेसाको रुपमा विकसित भएको देखिन्छ। तर नेपालजस्ता विकासोन्मुखक देशहरूमा भने अहिलेसम्म पनि नर्सिङ पेसालाई डाक्टरको असिस्टेन्ट या सहायकको रुपमा लिइनु दु:खद् छ।
समयसँगै बदलिएको स्वास्थ्यका परिभाषा र के कुराले बिरामी मानिसहरूमा स्वास्थ प्रवर्द्धन गर्न सकिन्छ भन्ने ज्ञान पनि विकास भएको छ जुन विकासोन्मुक देश नेपालले सिक्न आवश्यक देखिन्छ।
एक्काइसौं शताब्दीको स्वास्थ्यको परिभाषा
धेरै अघि स्वास्थ मानिसहरूको लागि बिरामी पर्नु र शारीरिक अस्वस्थता नै बिरामीपन हुने गर्थ्यो। आँखाले स्पष्ट देखिने र रगत/पिसाब/दिसा परीक्षणबाट देखिएका समस्याहरू मात्र अस्वस्थता हो भनिन्थ्यो। आजभोलि सबैले मानसिक, सामाजिक र आत्मिक स्वास्थ्यको महत्व बुझेका छन्। दुखित बन्नु, चिन्ता लिनु र मानसिक अस्वस्थता बढ्नु उत्तिकै अस्वस्थताका कारण बन्ने गरेको पाइन्छ।
नर्सिङमा मानव जातिलाई शरीर, मस्तिष्क र आत्माको मिश्रण भएको प्राणीको रुपमा लिइन्छ। त्यसैले औषधि दिएर निको नहुने व्यक्तिका विविध समस्याहरू पनि समाधान गर्न या समाधान खोज्ने बाटो देखाउन महत्वपूर्ण रहने गर्छ। आजको एक्काइसौँ शताब्दीमा अझ रोग लाग्नु अघि नै रोगका बाटो छेक्ने, रोकथाम र स्वास्थ्य प्रवर्द्धनका विषयहरू नर्सिङको लागि महत्वपूर्ण बन्दै गएको पाइन्छ।
जब उपचारको क्रममा एक बिरामीसँग नर्सको भेट हुन्छ तब नर्सले बिरामीले उपचार खोजेको मुख्य कारण मात्र नभई सामाजिक, आर्थिक या मानसिक प्रकारका स्वास्थमा असर पुर्याउन सक्ने अवस्थाहरूको सोधपुछ गरी बिरामीको दीर्घकालीन स्वास्थ प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने गर्दछन्। यद्यपि नर्सहरूले गर्दै गरेको योगदान र मूल्यलाई नेपाललगायत कयौं विकासोन्मुख देशमा मूल्यांकन समेत गरिएको छैन।
नर्सहरूको स्वास्थ्य प्रवर्द्धन र तलब सुविधा ग्यारेन्टी
विश्वमा नर्सहरूको कमी र वृद्धावस्थाका मानिसहरू बढ्ने क्रम जारी छ। कयौं सुविधा सम्पन्न देशहरूमा त नर्सहरूको हाहाकार मच्चिने बेला भएको छ। विशेषगरी ब्याचलर लेभल नर्सिङ गरेका र लामो अनुभव भएका नर्सहरूको लागि अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपमा सजिलै काम पाइने र नेपालभन्दा धेरै तलब तथा सुविधा प्राप्त हुने भएकोले उनीहरू ती राष्ट्रमा बसाइ सर्न थालिसकेका छन्।
नेपालमा सकेसम्म थोरै तलब दिएर धेरै काम लगाउने र उपचार गर्ने अस्पतालबाट लाखौं आम्दानी गरेर व्यापार गर्ने प्रचलनले नर्सहरूको महत्व झनै कमजोर बन्दै गएको छ। धेरैजसो सरकारी अस्पतालमा भने काम गर्ने सुरक्षित वातावरण तयार गर्न र गुणस्तरीय सेवा दिन हम्मे हुने र नर्सहरूको काम सम्बन्धी स्वास्थ प्रवर्द्धनमा ध्यान नदिएको मेरो आफ्नै रिसर्चले देखाएको छ।
अर्को ठूलो समस्या भनेको नेपालमा विशेषज्ञ नर्सहरूको शिक्षामै कमी हुनुले भविष्यमा आवश्यक दक्ष नर्सहरूको कमी हुने देखिन्छ।
अब सबैभन्दा ठूलो प्रश्न नर्सिङलाई पढाइ र काम दुवैमा व्यापारीकरण गरेर सकेसम्म राम्रा ज्ञान, सीप र क्षमता भएका नर्सहरूलाई विदेशतिर उतैका नागरिकलाई सेवा दिन बेचाउने कि नर्सिङ पेसालाई पूर्ण स्वतन्त्र, सरकारी र व्यापार गर्न नमिल्ने एउटा पेसाको रुपमा स्थापित गर्ने भन्ने प्रश्न खडा भएको छ।
देशका नागरिकहरू बिरामी पर्दा, महामारी आउँदा या स्वास्थ्य प्रवर्द्धनमा ठूलो भूमिका निभाउने नर्सहरूलाई हाम्रै देशमा बसिरहने र सेवा पुर्याइरहने आवश्यकता मनन गरी नेपाल सरकारले हरेक ब्याचलर गरेका नर्सको कम्तीमा मावि तहका पहिलो स्तरको शिक्षकको तलब र पिसिएल गरेकाहरूको लागि न्यूनतम पहिलो स्तरको निमावि शिक्षक सरह तलब हुनैपर्ने नियम लागु गर्नुको साथै नर्सिङ शिक्षामा विशेषज्ञ बन्नको लागि पैसा नलाग्ने बनाउन आवश्यक देखिन्छ।
नर्सहरूको काम सम्बन्धी स्वास्थ प्रवर्द्धन गर्न सुरक्षित भएर काम गर्न सकिने वातावरण र आफू लगायत नर्सका परिवारका सदस्यहरू बिरामी हुँदा कार्यरत संस्थाले नै बिमा, उपचारको सुविधा र पूर्ण रुपमा तलब नकाटिने गरी बिरामी बिदा लिन सकिने व्यवस्था गर्न आवश्यक हुन्छ।
नर्सहरूको स्वास्थ्यलाई दीर्घकालीन रुपमा प्रवर्द्धन गर्न दिनमा ८ घन्टाभन्दा बढी काम गर्न नपाइने तर स्वेच्छाले गरे बढी तलब पाइने नियम लागु गर्न आवश्यक हुन्छ। सरकारले त्यसो गर्न सकेमात्र नेपालमा नर्सहरू काम गर्न र सेवा गर्न तथा विदेशीन बाध्य हुने छैनन् र धेरै जनसमुदायमा फैलिएको ‘डाक्टरको असिस्टेन्ट’ भन्ने मानसिकता पनि हट्दै जाने निश्चित छ।
(लेखक स्वीडेनका रजिस्टर्ड र स्पेसियलिस्ट नर्स हुनुहुन्छ।)