२१ स्वास्थ्यकर्मीले सात महिनादेखि पाएनन् पारिश्रमिक

    • स्वास्थ्य पेज

  • २० फाल्गुन २०७८, शुक्रबार

नेपालगन्जः हुम्ला जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीले सात महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन्।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले करार सेवा दरबन्दीअनुसार बजेट निकासा नगर्दा उनीहरु सात महिनादेखि पारिश्रमिकबाट बञ्चित हुँदै आएका हुन्।

अस्पतालमा दैनिक काममा खटिँदै आएकी स्वास्थ्यकर्मी कुसुम रावतले गएको साउनदेखि पारिश्रमिक नपाएको बताउनुभयो ।

साउनबाट करार सेवाको नियुक्ति पनि नआएको र काम नगर्नसमेत नभनेकाले पारिश्रमिकविनै सात महिनादेखि काम गर्दै आएको उहाँले जानकारी दिन्भयो ।

उहाँ जस्तै २१ जना स्वास्थ्यकर्मी र कार्यालय सहयोगीले सात महिनादेखि पारिश्रमिक पाएका छैनन्। उनीहरुले अब विनापारिश्रमिक धेरै समय काम गर्न नसकिने बताउँदै आफूहरुको बारेमा छिटो निर्णय गर्न माग गरेका छन्।

सात महिनादेखि पारिश्रमिक नपाउनेहरुमा चार जना एचए र स्टाप नर्स, ल्याव टेक्निसियन, एक्सरे र फार्मेसीका एकएक जना रहेका छन्।

त्यस्तै आठ जना कार्यालय सहयोगीले पारिश्रमिक पाएका छन्। असारभित्रै म्याद सकिएका उनीहरुले कार्यावधि थपको पत्रसमेत पाएका छैनन्।

यसबारे स्वास्थ्य कार्यालय प्रमुख प्रेमबहादुर सिंहले प्रदेशबाट स्वास्थ्य सेवा कार्यालयको करार सेवाको दरबन्दीअनुसार बजेट निकासा नगर्दा पारिश्रमिक दिन नसकिएको बताउनुभयो।

प्रदेशबाट म्याद थपको पत्रसमेत नआएको कारण हटाउन पनि नसकिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार पारिश्रमिक नपाएका स्वास्थ्यकर्मीमध्ये केहीले असोजबाट र केहीले पुसबाट काम गर्न छोडेका छन्। बाँकीले भने हाल पनि अस्पतालमा काम गरिरहेको सिंहको भनाइ छ।

 

  • २० फाल्गुन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech