जिल्ला अस्पताल एकजना डाक्टरको भरमा !

    • स्वास्थ्य पेज

  • १८ फाल्गुन २०७८, बुधबार

नेपालगन्जः जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टरहरू धमाधम फर्कन थालेपछि स्वास्थ्य सेवा केवल एक जना डाक्टरको भरमा चलेको छ ।

२ दन्त विशेषज्ञसहित ५ मेडिकल अधिकृत र १ एमडीजीपी रहेकामा आइतबार मात्रै ४ डाक्टर अध्ययनका लागि बाहिर गएका छन् । अस्पतालमा आठ डाक्टरको दरबन्दी छ ।

सबै डाक्टर बाहिर गएपछि अहिले एक जना एमडीजीपी डाक्टरले मात्र उपचार गर्नुपर्ने बाध्यता छ । एक जनाले सबै बिरामीलाई जाँच्न नसक्दा उपचार सेवा प्रभावित भएको छ ।
अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् ।

डाक्टरको अभाव भएपछि बिरामी जाँच कक्ष, इन्डोर र इमर्जेन्सी कक्ष खाली हुन थालेका छन् । उपचारका लागि आएका १२ जना बढी बिरामीलाई जिल्ला बाहिर रिफर गर्न थालिएको छ ।

जिल्ला अस्पतालमा कार्यरत डा अभिषेक सिंहले २ जना डाक्टरले जागिर छोडेको, १ जनाले घरपायक मिलाएको र १ जना बिदामा गएका डाक्टर आउने–नआउने निश्चित नभएको बताएउनुभयो ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार २ मेडिकल अधिकृतहरू असिम प्रजापति र पूजा सुवेदी अध्ययनका लागि बाहिर जानुभएको छ ।

डा संकेत विश्वकर्मा भर्खरै सरुवा हुनुभएको छ । डा अबिक बुढामगर आउने–नआउने निश्चित नभएको कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठले डाक्टरको तत्काल पदपूर्ति गर्न प्रदेश सरकारलाई अनुरोध गरिएको बताउनुभयो ।

  • १८ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech