धनगढीः आवश्यक भौतिक संरचना तयार भएपछि कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको तयारी थालिएको छ ।
अबको केही समयभित्रै मेडिकल कलेजमा अस्पताल संचालन गर्ने तयारी भएको हो । शिक्षा मन्त्रालयमार्फत भौतिक संरचना निर्माणको काम भइरहेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजमा तीन सय शैयाको अस्पताल संचालन गर्ने अन्तिम तयारी गरिरहेको हो ।
त्यसका लागि स्वास्थ्य सचिव डा.रोशन पोखरेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ । उक्त समितिले तीन सय शैयाको अस्पताल संचालन गर्न आवश्यक जनशक्ति विवरण र उपकरणको खर्च समेटेर अर्थ मन्त्रालयलाई प्रतिवेदन बुझाउने जनाएको छ ।
अर्थ मन्त्रालयले बजेट विनियोजन गरेलगत्तै ११ तहको मेडिकल सुपरिटेन्डेन्ट पठाएर अस्पताल सञ्चालन हुने स्वास्थ्य मन्त्रालयका सचिव पोखरेलले बताउनुभयो ।
अस्पताल सञ्चालन भएपछि जनरल फिजिसियन, जनरल शल्यक्रिया, स्त्रीरोग तथा प्रसूति सेवा, बालरोग तथा शिशु, दन्त चिकित्सा, हाडजोर्नी, सामान्य आँखा उपचार, फिजियोथेरापी, एनेस्थेसियोलोजी, नाक, कान, घाँटी, मानसिक रोग, चर्म तथा यौनरोग सेवा संचालन हुने बताइएको छ।
त्यसका लागि ११ औं तहको मेडिकल सुपरिटेन्डेन्ट एक जना, मेट्रोन र अस्पताल व्यवस्थापन अधिकृत एक÷एक जना, आइटी अधिकृत र बायो मेडिकल इन्जिनियर सहायक दुई÷दुई जना आवयश्क पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यद्यपी सरकारले कुन मोडेलमा संचालन गर्नेबारे टुंगो लगाएको छैन । मेडिकल कलेज, मेडिकल विश्वविद्यालय वा प्रतिष्ठान के बनाउने भन्ने टुंगो नलागेको हो । सुदूरपश्चिमवासीले मेडिकल विश्वविद्यालयको प्रारुपमा संचालन हुनुपर्ने माग गरेका छन् ।