कोलेस्टेरोल हाम्रो कोषमा पाइने एक प्रकारको बोसो (लिपिड) पदार्थ हो । शरीरको प्रत्येक कोषको बाहिरी तह (सेल मेम्ब्रेन) को बनावटका लागि यो आवश्यक पर्छ । साथसाथै यो पदार्थ शरीरमा हर्मोन उत्पादन गर्न, भिटामिन डी बनाउन र खाना पचाउने कार्यमा सहयोग गर्न आवश्यक पर्छ । कोलेस्टेरोल कार्बन, हाइडोजन र अक्सिजनबाट बनेको एक प्राङ्गारिक यौगिक हो । यसको रासायनिक सूत्र C27H46O हो ।
हाम्रो शरीरले आवश्यक पर्ने कोलेस्टेरोल आफैँ निर्माण गर्ने गर्छ । यसको उत्पादन कलेजोमा हुन्छ र रगतमार्फत प्रत्येक कोषमा पुग्छ । कोलेस्टेरोल जनावरबाट प्राप्त विभिन्न स्रोतबाट पनि उपलब्ध हुन्छ जस्तै, अण्डाको पहेँलो भाग, मासु, बटर, चिज आदि ।
यदि शरीरमा कोलेस्टेरोलको मात्रा बढ्न थाल्यो भने यो अरु विभिन्न पदार्थ जस्तै, सेता रक्त कोष, क्याल्सियम आदिसँग मिसिन्छ । यो पदार्थ रक्तनलीको भित्तामा टाँसिन्छ र यसलाई साँघुरो बनाइदिन्छ । यो अवस्थालाई ‘अथेरोस्केलेरोसिस’ भनिन्छ । यसले रक्तनलीलाई थुनिदिन सक्छ । जसका कारण रक्तनलीहरू फुट्न सक्छन् र हृदयाघातसमेत हुन सक्छ । मस्तिष्कमा रगत पुर्याउने रक्तनली थुनियो भने ‘ब्रेन स्ट्रोक’ हुन सक्छ ।
कोलेस्टेरोल रगतमा घुल्दैन । तसर्थ शरीरभित्र रगतको माध्ययमबाट यो एक ठाउँबाट अर्को ठाउँमा पुग्न निश्चित प्रकारका प्रोटिनमा टाँसिनुपर्छ । कोलेस्टेरोलको भरियाको काम गर्ने यी प्रोटिनलाई ‘लिपोप्रोटिन’ भनिन्छ । लिपोप्रोटिन दुई प्रकारका छन् ।
एलडीएल (लो डेन्सिटी लिपोप्रोटिन)
यसले कोलेस्टेरोललाई कलेजोबाट कोषकोषमा पुर्याउँछ । यसको मात्रा बढी भएमा कोषमा कोलेस्टेरोल हानिकारक रूपमा जम्मा हुन थाल्छ । यसले कलेजोबाट कोलेस्टेरोल र अन्य चिल्लो पदार्थ रक्तनलीमा लगेर थुपारिदिन्छ । त्यसैले यसलाई ‘खराब कोलेस्टेरोल’ पनि भनिन्छ । यसको मात्रा वृद्धिले हृदयघात र ब्रेन स्ट्रोक को जोखिमलाई बढाउँछ ।
एचडीएल (हाइ डेन्सिटी लिपोप्रोटिन)
यसलाई ‘असल कोलेस्टेरोल’ पनि भनिन्छ । यसले कोषबाट बढी भएको कोलेस्टेरोल सोसेर लिन्छ र कलेजोमा फिर्ता ल्याउँछ । अब कलेजोले बढी भएको कोलेस्टेरोललाई नष्ट गर्छ, अरु प्रक्रियामा प्रयोग गर्छ वा शरीरबाट बाहिर फाल्ने प्रक्रियामा लग्छ । शरीरमा एचडीएलको मात्रा बढ्दा हृदयाघात र मस्तिष्कघातको जोखिमलाई घटाउँछ । यसर्थ शरीरमा एचडीएलको मात्रा धेरै हुनु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
दुईवटा कार्बनका बीचमा एउटा मात्र बोन्ड हुने फ्याट ‘स्याचुरेटेड फ्याट’ हो । स्याचुरेटेड फ्याट बढी भएका खानाको बढी सेवन गर्दा कोलेस्टेरोल बढ्छ ।
कोलेस्टेरोलको जाँचमा समग्र कोलेस्टेरोलसँगै यी दुवै प्रकारका लिपोप्रोटिनको मात्रा पनि जाँच्ने गरिन्छ ।
शरीरमा कोलेस्टेरोलको मात्राः
टोटल कोलेस्टेरोल
–२०० एमजी/डीएल (मिलिग्राम/डेसिलिटर) भन्दा कम –सन्तोषजनक ।
–२०० देखि २३९ एमजी/डीएलसम्म –खतरा सुरु हुन लागेको अवस्था ।
–२४० एमजी/डीएल वा त्योभन्दा माथि–खतराको अवस्था ।
एलडीएल कोलेस्टेरोल
१०० एमजी/डीएलभन्दा कम– सन्तोषजनक ।
१०० देखि १२९ एमजी/डीएल– खतराको सुरु अवस्था ।
१३० एमजी/डीएल वा त्योभन्दा माथि– खतरनाक ।
एचडीएल कोलेस्टेरोल
महिलामा ५० देखि ६० एमजी/डीएल र पुरुषमा ४० देखि ५० एमजी/डीएल– सन्तोषजनक ।
४० एमजी/डीएलभन्दा बढी– सन्तोषजनक ।
४० एमजी डीएलभन्दा कम– खतरनाक ।
शरीरमा कोलेस्टेरोल बढ्नुका कारण
– खराब बोसोयुक्त खानाः दुईवटा कार्बनका बीचमा एउटा मात्र बोन्ड हुने फ्याट ‘स्याचुरेटेड फ्याट’ हो । स्याचुरेटेड फ्याट बढी भएका खानाको बढी सेवन गर्दा कोलेस्टेरोल बढ्छ । स्याचुरेटेड फ्याट बढी हुने खानाहरूमा रातो मासु, दूध र दुग्धजन्य पदार्थ, चकलेट, तारेका खानेकुरा, नरिवलको तेल, पामको तेल, आइसक्रिम र प्रशोधित खानेकुराहरू पर्दछन् । ट्रान्स फ्याटयुक्त खानेकुरा जो प्रशोधित र तेलमा तारेका खानेकुरामा भेटिन्छ ।
– धूमपान तथा मद्यपानको सेवन ।
– शारीरिक ब्यायामको कमी ।
– वंशाणुगत कारण ।
– शरीरको तौल बढ्नु ।
शरीरमा खराब कोलेस्टेरोलको मात्रा घटाउन के गर्ने ?
शरीरमा अत्यधिक स्याचुरेटेड फ्याटयुक्त खानाले रगतमा कोलेस्टेरोलको मात्रा बढाउने गर्छ । स्याचुरेटेड फ्याट कोठाको तापक्रममा सामान्यतया ठोस अवस्थामा हुन्छन् । यस्तो फ्याट पाइने माथि उल्लेखित खानेकुराको सेवन कम गर्ने ।
‘अमेरिकन हर्ट एसोसिएसन’ले शरीरमा आवश्यक पर्ने जम्मा क्यालोरी को ५ देखि ६ प्रतिशत मात्रा स्याचुरेटेड फ्याटबाट लिन सकिने सुझाव दिएको छ । जस्तै; हामीलाई दैनिक २००० क्यालोरि आवश्यक पर्छ भने बढीमा १२० क्यालोरी स्याचुरेटेड फ्याटबाट लिन सकिन्छ ।
– अन्न, फलफूल, गेडागुडी, ब्राउन राइस तथा हरिया सागपात तथा तरकारीको बढी सेवन गर्ने । यस्ता खानेकुराले खराब कोलेस्टेरोललाई घटाइदिन्छन् ।
– धुम्रपान नगर्ने ।
– अलकोहल नियन्त्रण गर्ने ।
– खाना पकाउँदा तेल कम राख्ने ।
– मैदाका परिकार, तारेका र प्रशोधित खानेकुरा नखाने ।
– शारीरिक ब्यायाम गर्ने । शारीरिक ब्यायामले खराब एलडीएललाई घटाउँछ र असल एचडीएललाई बढाउँछ ।
– २० वर्षमाथिका प्रत्येक व्यक्तिले हरेक ४/५ वर्षमा कोलेस्टेरोलको जाँच गराउने ।