सुशील कोइराला क्यान्सर अस्पतालका बिरामीले प्रदेश सरकारबाट पाउने भए दुई लाखसम्म सुविधा

    • स्वास्थ्य पेज

  • १० फाल्गुन २०७८, मंगलवार

नेपालगन्जः बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचार गराउने बिरामीले दुई लाख रुपैयाँसम्म सुविधा पाउने भएका छन् । लुम्बिनी प्रदेश सरकारबाट उनीहरुले यो सुविधा पाउने भएका हुन् ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले क्यान्सर अस्पताल खजुरालाई विपन्न नागरिक उपचार कोष निर्देशिका, २०७५ अनुसार सूचीकृत गरेपछि क्यान्सर अस्पतालमा उपचार गराउने लुम्बिनी प्रदेशमा स्थायी घर भएका बिरामीले दुई लाख रुपैयाँसम्म सुविधा पाउने भएका हुन् ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य निर्देशक डा विनोद गिरीले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा २०७८ फागुन १ देखि विपन्न नागरिक उपचार कोष निर्देशिका, २०७५ अनुसार सूचीकृत भएसँगै दुई लाखसम्म उपचार सुविधा पाउने भएको बताउनुभयो ।

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले विपन्न नागरिक उपचार कोष निर्देशिका, २०७५ मा सूचीकृत गरेपछि लुम्बिनी प्रदेशमा घर भएका क्यान्सर रोगका बिरामीहरुले क्यान्सर अस्पताल खजुरामा उपचार गराउँदा दुई लाखसम्म सुविधा पाउने बाटो खुलेको क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा कृष्ण आचार्यले बताउनुभयो ।

संघीय सरकारले एक लाख रुपैयाँ दिँदै आएको छ । स्थानीय तह र अस्पतालको सिफारिसमा विरामीले एक लाख रुपैयाँ पाउँदै आएका छन् । तर लुम्बिनी प्रदेश सरकारले भने प्रदेशबाट पनि सिफारिस लिने पर्ने व्यवस्था गरेपछि भने विरामीलाई समस्या पर्ने देखिएको डा आचार्यले बताउनुभयो ।

प्रदेश सरकारको सेवा लिन विरामी फेरि मन्त्रालयमै जानुपर्ने अवस्था आएपछि विरामीलाई मर्का पर्ने देखिएपछि त्यसलाई सच्चाउन आफुले भनेको पनि उहाँले बताउनुभयो । यसबारेमा मन्त्रालयका सचिव डा विकास देवकोटाले संघीय सरकारबाट जुन तरिकाले विरामीले सेवा पाउँछन् त्यही अनुसार प्रदेशको सेवा पाउने दावी गर्नुभयो । उहाँले विरामी बुटवलनै आउनु पर्ने अवस्था नहुने भन्दै केही त्रुटी भए त्यसलाई सच्चाइने स्वास्थ्य पेजलाई बताउनुभयो ।

क्यान्सर अस्पताल खजुराले क्यान्सरका बिरामीहरुका लागि जनरल सर्जरी र हिष्टोप्याथोलोजी सेवा दिदै आएको छ ।

जनरल सर्जरी सेवा सुरु भएको करिब एक वर्षको अवधिमा क्यान्सर अस्पतालले ५ सय ५० जना बिरामीको शल्यक्रियासहितको उपचार गरेको छ भने हिस्टोप्याथोलोजी सेवामार्फत करिब ८ सय ५० जना शंकास्पद क्यान्सरका बिरामीमा क्यान्सर भए—नभएको एकीन गरिसकेको छ ।

क्यान्सर अस्पतालले क्यान्सर पहिचान भइसकेका बिरामीहरुलाई औषधीमार्फत दिइने किमो सेवालाई निरन्तरता दिइरहेको छ । पछिल्ला दिनहरुमा करिब ३ सय जना बिरामीले निरन्तर किमो सेवा लिइरहेका छन् ।

 

  • १० फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech