बाँके कुष्ठरोगको उच्च जोखिममा, ६ महिनामा ४४ नयाँ कुष्ठरोगी फेला

    • स्वास्थ्य पेज

  • ५ फाल्गुन २०७८, बिहीबार

नेपालगन्जः बाँके कुष्ठरोगको उच्च जोखिममा देखिएको छ । सरकारले १२ बर्षअघि नै नेपालमा कुष्ठरोग निवारण घोषणा गरेपनि बाँके भने अहिलेपनि कुष्ठरोगको उच्च जोखिममा देखिएको छ ।

कुष्ठरोग जोखिमको हिसावले बाँके देशकै दोस्रो स्थानमा छ । लुम्बिनी प्रदेशको कपिलबस्तु जोखिमको हिसावले पहिलो स्थानमा छ । प्रति १० हजारमा एकजना भन्दा कम भए निवारण भएको मानिन्छ । तर बाँकेमा प्रति १० हजारमा १ दशमलव ५९ मा कुष्ठरोगको संक्रमण देखिएको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा मात्रै बाँकेमा कुष्ठरोगीका ४४ जना फेला परेका छन् । स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकलपर्सन मानव नेपालीका अनुसार आठवटा पालिकामा ४४ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् । सबैभन्दा धेरै नेपालगन्ज र कोहलपुरमा कुष्ठरोगी छन् ।

नेपालगन्जमा १३ जना, कोहलपुरमा ११ जना जानकी गाउँपालिकामा ६ जना, बैजनाथ र नरैनापुर गाउँपालिकामा ५–५ जना, खजुरामभा ३, जना र डुडुवामा १ जना कुष्ठरोगी फेला परेका छन् । राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला नपरेको फोकलपर्सन नेपालीले बताउनुभयो ।

कुष्ठरोगीको पहिचान र उपचार निशूल्क हुने भएकाले उपचारको पहुँचमा आउन उहाँले सबैलाई आग्रह गर्नुभयो । गएको वर्ष बाँकेमा १२८ जना कुष्ठरोगी फेला परेका थिए । बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा रेफरल अस्पतालको रुपमा रहेको साइनिङ अस्पतालका अनुसार बाँके कुष्ठरोगको उच्च जोखिममा छ ।

अस्पतालका प्रमुख मंगल थारुका अनुसार अस्पतालमा चालू आर्थिक वर्षको ६ महिनामा ७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । तीमध्ये बाँकेका ३० जना, बर्दियाका २२ जना, दाङका ५ जनासहित अरु सल्यान, प्यूठान र भारतीय विरामी हुन् ।

कुष्ठरोगको जोखिम कायमै रहेकाले यसको पहिचान, उपचार र निदाननै निवारणको पहिलो उपाय भएको थारुको भनाइ छ । उहाँले कुष्ठरोगको उपचार निःशूल्क हुने भएकाले त्यस्ता विरामीहरुलाई सम्पर्कमा आउन आग्रह पनि गर्नुभयो ।

भारतसँगको खुलासीमा नाका, नयाँ कुष्ठरोगी फेला पर्दै जानु, उपचार सेवाको पहुँच हुनु, जनसंख्यापनि धेरै हुनुलगायतका कारणले कुष्ठरोगीको संख्या बाँकेमा बढी देखिएको हुन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

कुष्ठरोग लागे अझैपनि समाजमा विभेद गर्ने, विभिन्न खालका लान्छना लगाउने चलन छ । तर कुष्ठरोग कुनै पाप र धर्मका कारण नभएर यो मानिसको श्वासप्रश्वासबाट सर्ने भाइरस भएकाले समयमै यसको पहिचान गरेर उपचार गरियो भने ठिक हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । समयमै उपचार गरे शरिर अंगभंग हुनबाट जोगिने उनीहरुको भनाइ छ ।

साइनिङ अस्सपताल आइएनएफ बाँकेले आज विहीबार नेपालगन्जमा पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कुष्ठरोग निवारणका लागि सबैपक्षबीच हातेमालो गरेर अघि बढ्न आग्रह गरेको छ ।

बाँकेमा प्रकोप दर उच्च रहेकाले यसको निवारण जरुरी रहेको भन्दै सबै पक्षबीच समन्वय र सहकार्य जरुरी रहेको अस्पतालको भनाइ छ ।

 

  • ५ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech