नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौं तहका स्वास्थ्यकर्मीहरुको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ८ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको सचिव डा रोशन पोखरेलले जानकारी दिनुभयो ।
यसअघि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख रहेका डा कृष्ण पौडेललाई मन्त्रालयको नीति योजना महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । केही समय अगाडि नीति योजनाका प्रमुख तारानाथ पोखरेलले सरकारी सेवाबाट अवकास पाउनुभएको थियो ।
ईडीसीडीमा कोशी अस्पतालका मेसु डा चुमनलाल दासलाई ल्याइएको छ । कोशीमा डा यज्ञ खरेललाई निमित्त मेसुको जिम्मेवारी दिइएको डा पोखरेलले जानकारी दिनुभयो ।
त्यसैगरी, कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी डा युवानिधी बसौलालाई दिइएको छ ।बरिष्ठ बालरोग विशेषज्ञ बसौला यसअघि भरतपुर अस्पतालमा हुनुहुन्थ्यो। कान्तिमा डा अजित रायमाझी कार्यकारी निर्देशक हुनुहुन्थ्यो ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा डा यदुचन्द्र घिमिरेलाई ल्याइएको छ । उहाँ हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान केन्द्रका प्रमुख हुनुहुन्थ्यो । उहाँको ठाउँमा तालिम केन्द्रमा प्रमुख रहेका केशव पण्डितलाई पठाइएको छ ।
डा सुधा देवकोटालाई राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रमै फिर्ता गरिएको छ । उहाँ डेढ महिना अघि केन्द्रीय कारागार अस्पतालमा सरुवा हुनुभएको थियो। केन्द्रीय कारागार अस्पतालमा डा प्रकाशप्रसाद साहलाई जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा श्रीराम तिवारी गण्डकीको स्वास्थ्य मन्त्रालयको सचिव भएर गएपछि रिक्त रहेको स्थानमा डा सञ्जय ठाकुरलाई पठाइएको छ ।