मिर्गी र चरपाईले परिचित छारे रोग समयमै उपचार गरे कन्ट्रोल गर्न सकिन्छ

    • प्रियास्मृति ढकाल

  • २ फाल्गुन २०७८, सोमबार

पछिल्लो समय छारेरोगका विरामीहरु बढ्नेक्रममा रहेका छन् । गाउँघरमा छारे रोगलाई चरपाई र मिर्गीकारुपमा पनि चिन्ने गरिन्छ । समयमा यसको पहिचान भएर उपचार गरिए निको हुने चिकित्सकहरु बताउँछन् । २ देखि ३ बर्षसम्म औषधि सेवन गरेपछि यो रोग नियन्त्रण हुन्छ । त्यसपछि विस्तारै औषधिको मात्रा घटाएर निको पार्न सकिने भएकाले रोग लुकाएर बस्नुभन्दा बेलैमा उपचार गर्नतर्फ लाग्नुपर्ने चिकित्सकहरु सुझाव दिन्छन् ।

छारे रोग के हो ?
छारे रोग वा मिर्गी एक किसिमको स्नायु प्रणालीको डिसअर्डर हो। जसमा मष्तिष्कको न्यूरोन्सहरुमा भइरहेको समान्य गतिविधि अचानक असामन्य भइदिन्छ। फलस्वरूप मानिसको शरीरको केहि भागमा अनैच्छिक चाल उत्पन्न हुनुको साथै क्षणिक चेतना (होस) र मांशपेशिको टोन गुम्छ। त्यसैले यसलाई कहिलेकाँही सिजर डिसअर्डर पनि भन्ने गरिन्छ। छारे रोग वा मिर्गी कुनै खास व्यक्ति, समुदाय, वर्ग, जात, धर्मका व्यक्तिमा मात्र नभई जोसुकैलाई पनि हुनसक्छ। यो सरुवा रोग होइन् । कसैले छुँदैमा सर्ने हुदैन् ।

लक्षण
एकछिन अलमलिनु, केहिबेर टोलाउनु, हातखुट्टा कडा भई काँप्नु, पटक पटक बेहोस हुनु र डर वा चिन्ताको अनुभुति हुनु आदि छारे रोगका लक्षणहरु हुन् ।

कारण
जेनेटिक प्रभाव, टाउकोमा चोटपटक लाग्नु, मस्तिष्कघात, बे्रन ट्युमर, मस्तिष्क ज्वरो, टाउकोमा जुकाको अण्डा आदि छारे रोगका मुख्य कारणहरु हुन् । त्यसमा खानपिनले पनि प्रभाव पार्ने गर्छ ।

छारेरोग पहिचान गर्ने तरिका
लक्षणको विश्लेषण, बिरामीको जाँच, छारेव्यथाले च्यापेको बेला खिचिएको भिडियो, रगत परिक्षण, टाउकोको इइजी, टाउकोको सिटी वा एमआरआई आदिले छारे रोग लागेको हो÷होइन, छारेरोग कुन प्रकारको हो वा के कारणले लागेको हो भन्ने पत्ता लगाउन सकिन्छ ।

छारे रोगले निम्त्याउने परिणाम
-छारे रोगले दुर्घटना हुने
-पानीमा डुब्ने

-आगोमा पर्ने
-चोटपटक लाग्ने
-कोहि बिरामीको अचानक मृत्युपनि हुन सक्छ ।

उपचार
-प्रायजसो बिरामीलाई औषधि उपचारले मात्र यो रोग निको पार्न सकिन्छ ।

-केहि बिरामीलाई मात्र शल्यक्रिया वा अन्य उपचार आवश्यक पर्न सक्छ ।

-बिरामीले छारेरोगको औषधि नियमित र सहि मात्रामा प्रयोग गर्नुपर्दछ ।

-औषधि छुटाउनुहुँदैन ।

-धुम्रपान, मद्यपान र मानसिक तनावबाट बच्नु पर्ने उपयुक्त उपचार हो ।

भ्रम
-छारेरोग देवीदेवता भुतप्रेतको असर होइन
-अरु मानिसमा सर्ने सरुवा रोग होइन
-यस्ता बिरामी पुजापाठ झारफुक तर्फ लाग्नु हुँदैन् ।

सुझाव
-बिरामी आफै वा घरपरिवारका सदस्यहरुले यस रोगबारे सबै जानकारी प्राप्त गरेको हुनुपर्छ ।

-छारेरोगका बिरामीहरु आगो, गहिरो पानी र सवारीसाधनबाट टाढा बस्नुपर्दछ ।

-छारेरोग लागेको बेला देख्ने मानिसले नआत्तिकन बिरामीलाई सहयोग पुर्याउनुपर्छ ।

-छारे रोगको व्यथा ३० सेकेन्ड देखि ३ मिनेटसम्म हुन्छ, त्योभन्दा बढी बिरामी बेहोस भइराखेमा तुरुन्त बिरामीलाई अस्पताल पुर्याउनुपर्छ ।

-छारेरोगले काँपीरहेको बिरामीलाई च्याप्प समाइ रोक्ने प्रयास गर्नुहुँदैन ।

-औँला वा चम्चाले बिरामीका बाँधिएका दाँत खोल्ने प्रयास गर्नुहुँदैन ।

-गँन्हाउने बस्तु जस्तै, जुत्ता ,मोजा वा प्याज सुँघाउनु हुँदैन ।

-नाक मुख थुन्नुहुँदैन । बिरामीको अनुहार वा मुखमा पानी खन्याउनुहुँदैन ।

(न्यूरो सर्जन डा जोशन न्यौपाने नेपालगन्जस्थित नेपालगन्ज न्यूरो ट्रमा तथा मल्टिस्पेस्यालिटी सेन्टरमा आबद्ध हुनुहुन्छ । उहाँसँग गरिएको कुराकानीको आधारमा )

 

  • २ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech