नेपालगन्जः नेपालगन्जमा राष्ट्रिय हात्तीपाईले रोग निवारण सम्बन्धी रि प्रि टास सर्भे हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ४ सल्यानीबागलाई केन्द्र बनाएर नजिकैका ३ स्थानमा गरिने सर्भेक्षणमा तीनसयजनाको रक्त नमूना संकलन गरिने भएको छ ।
५ बर्ष भन्दा माथिका ब्यक्तिमा हात्तिपाईले रोग भएनभएको एकिन गर्न र आम औषधी सेवन कार्यक्रमको प्रभावकारिताका लागि सर्भे गर्न लागिएको हो । बाँकेमा ११ औं पटक आम औषधी कार्यक्रम संचालन भएपनि कार्यक्रम सफल हुन सकेको छैन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका बरिष्ठ स्वास्थ्य प्रशासक युवराज पोखरेल र भेक्टर कन्टोल अधिकृत कुमार पोखरेल सहितको टोलीले आज नेपालगन्ज उपमहानगरपालिकामा अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द लगायतले आवश्यक सहयोग गर्ने बताउनुभयो ।