धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको तेस्रो लहर फैलिएपछि पहिलो पटक गत पुस ३० गते सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको थियो । २९ पुसमा संक्रमण पुष्टि भएर प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको कैलारी गाउँपालिका–५ की ५३ वर्षीया महिलाको मृत्यु भएको थियो ।
प्रादेशिक अस्पतालकाअनुसार कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएपनि मिर्गौला, मधुमेह र फोक्सोमा पानी भरिने समस्याका कारण ती महिलालाई बचाउन सकिएन ।
सेती प्रादेशिक अस्पतालमै ४ माघमा गोदावरी नगरपालिका–४ का ७५ वर्षीय पुरुषको उपाचारकै क्रममा मृत्यु भयो । कोरोनाविरुद्धको खोप नलगाएका ती पुरुष २३ पुसमा अस्पताल भर्ना भएका थिए । उच्च रक्तचाप र संक्रमण पनि भएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यसको तीन दिनपछि प्रादेशिक अस्पतालमै अर्का कोरोना संक्रमितको मृत्यु भयो । २६ पुसमा कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ५२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
अस्पतालकाअनुसार उनले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । मिर्गौला, मुटुसम्बन्धी समस्या भएका ती पुरुष निमोनियाका बिरामी थिए ।
कोरोना संक्रमणका कारण वृद्धवृद्धा मात्रै होइनन् युवाहरुको पनि मृत्यु भएको अस्पतालको तथ्यांकले देखाउँछ । तर उनीहरु मध्ये अधिकांश खोप नलगाएका र कुनै न कुनै खालको दीर्घरोगी भएका मानिसहरु बढी छन् ।