नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पचालझरना गाउँपालिका–१ कालिकोटकी ६० वर्षीया महिलाको उपचारका क्रममा आज विहान मृत्यु भएको हो ।
उनलाई गएको माघ ९ गते कोहलपुर मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा कोभिड संक्रमण पुष्टि भएको थियो ।त्यसको भोलीपल्ट उनी भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकी थिइन् ।
उपचारका क्रममा स्वास्थ्यमा सुधार नआउँदा उनको विहान चारबजे तिर मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
योसँगै कोरोनाबाट उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका तीन सय ४४ जनाको मृत्यु भएको छ ।