नेपालगन्जः हेल्थ डेस्कका स्वास्थ्यकर्मी आफैं संक्रमणको चपेटामा परेपछि नेपालगन्जको जमुनाह नाकामा कोरोना जाँच प्रभावित हुने जोखिम बढेको छ ।
नाकामा खटिएका प्रयोगशालातर्फका कर्मचारी कोरोना संक्रमित भएसँगै जनशक्ति अभाव हुन थालेको हो । पछिल्लो दुई हप्ता यता संक्रमितको संख्या बढ्दै गएको छ ।
भारतबाट आइरहेका धेरैमा संक्रमण पुष्टि हुने गरेको छ । नाकामा एन्टिजेन परीक्षणमा व्यस्त ल्याबमा काम गर्ने कर्मचारीमा धमाधम संक्रमण पुष्टि भइरहेको छ । उनीहरू आइसोलेसनमा बस्नुपरेपछि जनशक्ति अभाव हुँदै गएको हो ।
कोरोना जचाउँदा संक्रमण पुष्टि हुने भन्दै केही नाकामा लक्षण मिल्ने समस्या देखिएका कर्मचारीले आफ्नोचाहिँ जाँच नगरी काम गरिरहेको बताएका छन् ।
नेपालगन्जको जमुनाह नाकामा खटिएका २४ स्वास्थ्यकर्मीमध्ये १० जनालाई संक्रमण पुष्टि भइसकेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले स्ट्यान्डबाइमा कर्मचारी राख्नुपर्ने आवश्यकता औंल्याएको कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।
‘बाँकी रहेका १४ जना कर्मचारीबाट पनि काम चलिरहेको छ, उहाँले भन्नुभयो–‘संक्रमितको संख्या बढ्ने र ल्याबका स्वाब संकलनकर्तामा संक्रमण देखिन थाले तत्कालै कर्मचारी आवश्यक पर्छ ।’
बैठकले स्वास्थ्य कार्यालयलाई ल्याबका कर्मचारी तयारी अवस्थामा राख्न र आवश्यकताअनुसार खटाउन भनेको भन्दै उहाँले स्थानीय तहका ल्याबमा रहेका जनशक्तिसमेतलाई प्रयोग गर्न मिल्ने गरी व्यवस्थापन गर्न आग्रह गरिएको बताउनुभयो ।