नेपालगन्जः स्वर्गीय सूर्यनाथ गौतम (मुटु) पत्रकारिता पुरष्कार अक्षय कोषको आज नेपालगन्जमा स्थापना गरिएको छ । सूर्यनाथकी धर्मपत्नी सुशीला गौतमले उक्त कोष स्थापित गर्नुभएको हो ।
सुशीला र सुर्यनाथ नेपालगन्जका बरिष्ठ पत्रकार नीरज गौतमका माता पिता हुनुहुन्छ । नेपाल पत्रकार महासंघले आफ्नै कार्यालय भवनमा आयोजना गरेको कार्यक्रममा सुशीलाले एक लाख रुपैयाँको कोष स्थापना गर्नुभएको महासंघका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो ।
सूर्यनाथको मुटु रोगकै कारण मृत्यु भएपछि आफुले श्रीमानको स्मृतिमा कोष स्थापना गरिएको सुशीलाले बताउनुभयो ।
उक्त कोषको संरक्षकमा छोरा नीरज गौतमलाई राखिएको छ । अक्षय कोष रकम मुद्वतीमा राखिने छ । एक वर्षमा जति ब्याज आउँछ त्यो रकम पुरस्कारको रुपमा प्रदान गरिने छ । बिस्तारैपछि पुरस्कार राशी बढाउँदै लैजानेमा आफु सकारात्मक रहेको संरक्षक गौतमले बताउनुभयो ।