नेपालगन्जः नेपालमा थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।
पुसमा संकलित १ हजार १४६ पोजिटिभ नमूनाहरुको एस जिन स्क्रिनिंग गर्दा २५० वटा एस जिन नेगेटिभ पत्ता लागेको थियो।
एस जिन नेगेटिभ पत्ता लागेका २४ नमूनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।
जिन सिक्वेन्सिङ, कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउने विधि हो। भाइरसको जेनेटिक (आणुवांशिक) बनावटलाई डिकोट गर्ने परीक्षण नै जिन सिक्वेन्सिङ हो।
जिन सिक्वेन्सिङबाट नै भाइरसमा भएको म्युटेनस (उत्परिवर्तन) पत्ता लगाउन सकिन्छ।
नेपालमा हालसम्म पत्ता लागेका ओमिक्रोन भेरियन्ट पनि जिन सिक्वेन्सिङबाटै पुष्टि भएका छन्।
संकलित सबै नमूनाहरुको जिन सिक्वेन्सिङ गरिदैन। यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निश्चित रणनीति र मापदण्ड निर्धारण गरेको छ।
पीसीआर परीक्षणका क्रममा एस जिन नेगेटिभ आएका नमूनाको मात्र जिन सिक्वेन्सिङ गर्ने गरिएको प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले बताउनुभयो ।
गुप्ताका अनुसार देशभरबाट संकलन हुने पोजेटिभ नमूनाको जिन सिक्वेन्सिङ दुई चरणमा गरिन्छ।
पहिलो, ‘पीसीआर परीक्षण गरिन्छ।’ दोस्रो, ‘पीसीआरमा कोरोना पोजेटिभ र एस जिन नेगेटिभ आएको हुनुपर्दछ।’
जिन सिक्वेन्सिङमा चार वटा जिन परीक्षण गर्ने गरिएको छ। ती हुन्, एस जिन, आरडीआरपी जिन, ओआरएफ जिन र एन जिन।
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार ओमिक्रोन भेरियन्ट म्युटेसन भएकाले यसमा एस जिन नेगेटिभ आउँछ। ओमिक्रोन भेरियन्टको एस जिनमा म्युटेसन भएको उहाँले बतानुभयो ।
एस जिन भनेको भाइरसको बाहिरी सतह हो। जिन सिक्वेन्सिङमा एस जिनमा कहाँ म्युटेसन भएको छ भनेर हेरिन्छ। भाइरसमा हुने यही म्युटेसनका कारण नै डेल्टा, ल्याम्डा, अल्फा जस्ता भेरियन्ट देखिएको प्रयोगशालाका सूचना अधिकारी गुप्ताले बताउनुभयो ।
जिन सिक्वेन्सिङबाट ओमिक्रोन भेरियन्ट मात्र नभइ भाइरसमा हुने कुनै पनि उत्परिवर्तन पत्ता लगाउन सकिन्छ।








