कञ्चनपुरमा कोभिड संक्रमितले आइसोलेसन भरियो

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको परीक्षण महाकाली प्रादेशिक अस्पतालमै गर्ने तयारी


    • स्वास्थ्य पेज

  • २३ पुष २०७८, शुक्रबार

महेन्द्रनगर: महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ३ दिनमा ६० जना कोरोना संक्रमित भर्ना भएका छन् । नाकामा संक्रमित देखिएका सबैलाई प्रादेशिक अस्पतालकै आइसोलेसनमा राख्ने गरिएको छ ।

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ३ दिनमा ६० जना कोरोना संक्रमित भर्ना भएको अस्पतालका कोभिड फोकल पर्सन डा गोविन्द रोकायाले बताउनुभयो ।

नाकामा संक्रमित देखिएका सबैलाई प्रादेशिक अस्पतालकै आइसोलेसनमा राख्ने गरिएको छ । सबैमा रुघाखोकीलगायत सामान्य लक्षण मात्रै देखिएको छ ।

उहाँका अनुसार अस्पतालको आइसोलेसनमा ५० बेडमात्रै छन् । केही बेड थपेर ६० जनासम्म राखिएको छ । थप संक्रमित आए राख्ने अवस्था छैन ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बिहीबार ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतबाट घर फर्किनेहरूको गड्डाचौकी नाकामा एन्टिजेन परीक्षण गर्दा २९ र महाकाली अस्पतालमा पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

भारतबाट आउनेमा बढी संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख शिवराज सुनारले बताउनुभयो । भारतबाट आउनेहरूको नाकामा व्यवस्थित ढंगले परीक्षणसँगै कडाइ गर्नुपर्ने उहाँको भनाइ छ ।

यसैबीच कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको परीक्षण महाकाली प्रादेशिक अस्पतालमै गर्ने तयारी थालिएको छ ।

अस्पतालका कोभिड फोकल पर्सन डा रोकायाका अनुसार आज शुक्रबारदेखि ओमिक्रोन परीक्षण सुरु गरिनेछ ।

‘सुदूरपश्चिममा हामीसँग भएको पीसीआर मेसिनबाट मात्रै ओमिक्रोन परीक्षण हुने देखिएको छ, उहाँले भन्नुभयो–‘त्यहीअनुसार तयारी गरेका छौं ।’

अहिले ओमिक्रोन परीक्षणका लागि नमुना संकलन गरेर केन्द्रीय प्रयोगशालामा पठाउनुपर्ने बाध्यता छ ।

  • २३ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech