जाडो मौसममा बालबालिकालाई कस्ता समस्या देखापर्छन् ?
जाडो मौसममा बालबालिकालाई रुघाखोकीको समस्या बढी देखिन्छ । विशेषगरी ‘रेस्पिरेटरी सेन्साइसियल भाइरस’ र ‘इन्फ्लुयन्जा भाइरस’को संक्रमण बढी हुन्छ । यी भाइरसले दुई वर्षमुनिका बालबालिकालाई घ्यारघ्यार हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या हुन्छ । जसलाई ‘ब्रोन्काइटिस’ भनिन्छ । दम भएका बालबालिकालाई चिसो मौसममा दमको लक्षण बढी देखिन सक्छ । त्यसैगरी ‘रोटा भाइरल डायरिया (भाइरसले गराउने झाडाबान्ता)’ पनि जाडोमा बढी देखिन्छ । यो सँगसँगै छाला सुख्खा हुने, चिलाउने र गाला फुट्ने समस्या पनि देखिन सक्छ ।
यतिबेला कुन उमेरका बालबालिका बढी बिरामी हुन्छन् ?
चिसोले हरेक उमेरका बालबालिकालाई समस्या गराउन सक्छ । नवजात शिशुलाई जाडोमा न्यानो राख्न जरुरी हुन्छ । नभए शरीरको तापक्रम कम भएर ‘हाइपोथर्मिया’ हुन सक्छ । दुई वर्षमुनिका बालबालिकाहरूलाई विशेषगरी जाडोमा समस्या हुने गरेको पाइन्छ । घाँटी र फोक्सोको संक्रमण जुनसुकै उमेरमा पनि हुन सक्छ । पाँच वर्षमुनिका बालबालिकालाई यतिबेला निमोनियाँ हुने सम्भावना पनि रहन्छ ।
बालबालिकामा कोभिडको संक्रमण के–कति देखिएको छ ?
नेपालमा कोभिड संक्रमितको संख्यामा कमी आएलगत्तै बालबालिकामा पनि कोभिड संक्रमणमा निकै कमी आएको छ । कोभिडको पहिलो र दोस्रो लहरमा धेरै बालबालिका संक्रमित भए पनि गम्भीर प्रकृतिको कोभिड संक्रमण भने निकै कम देखिएको थियो । हाल बाह्र वर्षमुनिका बालबालिकालाई खोप उपलब्ध नभएको हुनाले सावधानी अपनाउन भने जरुरी छ ।
मौसमी लु र कोभिडका लक्षण लगभग उस्तै हुन्छन्, कसरी छुट्याउने ?
मौसमी फ्लु र कोभिड दुवैमा रुघाखोकी लाग्ने, ज्वरो आउने वा जिउ दुख्ने हुन्छ, त्यसैले लक्षणका आधारमा मात्र छुट्याउन गाह्रो हुन्छ । स्वाद र गन्ध हराउने कोभिडको लक्षण भए पनि १५ प्रतिशत कोभिडका बिरामीमा मात्र यो देखिन्छ । यस्तो लक्षण नदेखिन पनि सक्छ । ज्वरो आउने, रुघाखोकी तथा पखाला लाग्ने र कोभिड संक्रमितको सम्पर्कमा आएको भए कोभिड संक्रमण भएको शंका गर्नुपर्छ । यसको यकिनका लागि पीसीआर गर्न जरुरी हुन्छ ।
यसबाट बच्ने उपाय के होला ?
बालबालिकालाई चिसो मौसममा फैलिने भाइरसबाट बचाउन रुघाखोकी, ज्वरो आएका सदस्य घरमा भएमा उनीहरूको सम्पर्कमा जान दिनुहुँदैन । बालबालिकालाई हेरचाह गर्नेले आफैं बुझ्ने उमेरका भए बेलाबेलामा साबुनपानीले हात धुनुपर्छ । त्यसैगरी इन्फ्लुएन्जाविरुद्धको खोप वर्षमा एकपटक लगाउनुपर्छ । यो खोप छ महिनाभन्दा माथिका उमेर समूहले लगाउन मिल्छ । चिसो मौसममा झ्यालढोका बन्द गरेर बसेमा किटाणु फैलने सम्भावना धेरै हुन्छ । त्यसैले कोठामा राम्रोसँग हावा छिर्न पाउनुपर्छ ।
बालबालिकालाई कसरी स्वस्थ राख्न सकिन्छ ?
स्तनपान गर्ने बालबालिकाको रोगसँग लड्ने क्षमता बढी हुन्छ । त्यसैले छ महिनासम्म पूर्णरूपमा स्तनपान मात्र गराउनुपर्छ र कम्तीमा दुई वर्षसम्म यसलाई निरन्तरता दिनुपर्छ । प्रशस्त मात्रामा फलफूल र तरकारी खाने, बजारको वा प्याकेटको जंक फुड खान नदिने, खोप लगाउने र समय–समयमा साबुनपानीले हात धोएमा बालबालिकालाई स्वस्थ राख्न सकिन्छ ।
(डा.सुरभी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बालरोग विशेषज्ञ हुनुहुन्छ)