बाँकेका सिडिओलाई उपप्रधानमन्त्रीले सोधे–‘भयावह अवस्था आउन नदिन हाम्ले के गर्नु पर्छ ?’

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७८, आईतवार

नेपालगन्जः उपप्रधानमन्त्री इश्वर पोख्रेलले बाँकेमा कोरोना भाइरस महामारीको अवस्था, नियन्त्रण र उपचारका सवालमा भएका पछिल्ला गतिविधिबारे जानकारी लिनुभएको छ ।

आज बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन सम्पर्क गरी उपप्रधानमन्त्री पोख्रेलले कोरोनाको महामारी, नियन्त्रण, निदान, उपचार र चुनौतिबारेमा जानकारी लिनुभएको हो । ‘उपप्रधानमन्त्री ज्यूले कोरोनाको भयावह अवस्थाबारे जिज्ञासा राख्नुभएको थियो प्रजिअ गेलालले स्वास्थ्य पेजसँग भन्नुभयो–‘मैले यहाँको अवस्थाबारे जानकारी गराए ।’

गेलालले संक्रमितको संख्या दैनिकरुपमा बढ्दै गएको, उपचारका लागि अस्पतालहरुमा शैया अभाव हुन थालेको र जनशक्ति अपुग रहेको जानकारी उपप्रधानमन्त्री पोख्रेललाई गराएको बताउनुभयो ।

त्यसमा उपप्रधानमन्त्रीको प्रतिक्रिया चाही के थियो ? भन्ने स्वास्थ्य पेजको प्रश्नमा प्रजिअ गेलालले भन्नुभयो–‘जनशक्ति व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रीसँग कुराकानी भइसकेको छ भन्नुभयो ।’

उपप्रधानमन्त्री पोख्रेलले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा तीन सय शैयाको कोरोना डेडिकेटेड अस्पताल संचालनको तयारीबारे पनि प्रजिअ गेलालसँग चासो राख्नुभएको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक समेत रहनुभएका पोख्रेलले भाइरस संक्रमणको भयावह अवस्था आउन नदिन केन्द्र सरकारले सबै खाले सहयोग गर्न तयार रहेकाले त्यसतर्फ चनाखो भएर काम गर्न निर्देशन दिनुभएको थियो ।

उहाँले नागरिकको जीवन रक्षाका लागि सबै विकल्प प्रयोग गर्न पनि प्रजिअ गेलाललाई निर्देशन दिनुभयो । उहाँले केन्द्र सरकारले के सहयोग गर्नु पर्छ त्यो सहयोगको लागि तयार रहेको पनि बताउनुभएको थियो ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech