धनगढीः कोरोना भाइरस संक्रमणबाट सुदूरपश्चिममा एक वर्षीया बालिकासहित थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु अछाम, कैलाली र कञ्चनपुरका छन् ।
अछामको बयलपाटा अस्पतालमा उपचाररत एक वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६ दिन पहिले अभिभावकसँगै भारतबाट स्वदेश फर्किएकी अछामको कमलबजार नगरपालिका ७ की ती बालिकाको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
बिहीबार साँझ नै कञ्चनपुरको महाकाली अस्पताल भर्ना भएका जिल्लाको भीमदत्तनगरपालिका १८ का ४१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका ५ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ८ का ४५ वर्षीय संक्रमितको पनि गएराति मृत्यु भएको छ ।