नेपालगन्ज: बाँकेका अस्पतालहरुमा कोरोना भाइरस संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमित बिरामीहरुको उपचार भैरहेको भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेजमा १ जना गरि थप ७ जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
संक्रमणका कारण मृत्यु हुनेहरुमा पाँच जना बाँकेका, एक जना बर्दिया र एकजना कैलालीका हुनुहुन्छ । कोभिडका कारण नेपालगन्ज उपमहानगरपालिका-४ बाँकेका ६० वर्षिय पुरुष, कोहलपुर नगरपालिका-११ की ४३ वर्षिय महिला, नेपालगन्ज उपमहानगरपालिका-९ बाँकेका ४२ वर्षिय पुरुष, बढैयाताल गाउँपालिका-८ बर्दियाका ३२ वर्षिय पुरुष र नेपालगन्ज उपमहानगरपालिका-५ बाँकेका ५५ वर्षिय पुरुष, लम्कीचुहा नगरपालिका-१ कैलालीका ४३ वर्षिय पुरुष र खजुरा गाउँपालिका-२ बाँकेकी ६७ वर्षिय महिलाको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् ।
नेपालगन्ज-४ का ६० वर्षिय पुरुषको बैशाख ६ गते भेरी अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो । १५ बैशाख हिजो उहाँलाई भेरी अस्पतालमा भर्ना गरिएको भएपनि हिजो नै राती करिब ९ बजे उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै कोहलपुर-११ की ४३ वर्षिय महिलाको हिजो बैशाख-१५ मा नेपालगन्ज मेडिकल कलेजमा पीसीआर परीक्षण गरिएको थियो । हिजो नै अस्पताल भर्ना हुनभएको उहाँको पनि हिजो नै राती ९ बजे मृत्यु भएको फोकलपर्सन वलीले जानकारी दिनुभयो ।
नेपालगन्ज ९ का ४२ वर्षिय पुरुषले स्वास्थ्या समस्या आउँदा बैशाख १० गते बागेश्वरी ल्याबमा पीसीआर परीक्षण गर्नुभएको थियो । बैशाख ११ गते भेरी अस्पतालमा भर्ना हुनुभएका उहाँको स्वास्थ्यमा सुधार नआउँदा हिजो राती करिब १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यसैबिच बर्दियाका-३२ वर्षिय पुरुषले बैशाख-९ गते भेरी अस्पतालमा पीसीआर परीक्षण गर्नुभएको थियो ।
हिजो १५ बैशाखमा भेरी अस्पतालमा भर्ना हुनुभएका उहाँको आज बिहान १:३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरको छ । यस्तै नेपालगन्ज-५ का ५५ वर्षिय पुरुषले बैशाख १० मा नेपालगन्ज मेडिकल कलेजमा पीसीआर परीक्षण गर्नुभएको थियो । हिजो १५ बैशाखमा भेरी अस्पतालमा भर्ना भई उपचार सुरु गर्नुभएका उहाँको स्वास्थ्यमा सुधार नआउँदा आज बिहान ५: ३० बजे मृत्यु भएको फोकलपर्सन वलीले जानकारी दिनुभयो ।
उता लम्कीचुहा कैलालीका ४३ वर्षिय पुरुषले भेरी अस्पतालमा बैशाख १३ मा पीसीआर परीक्षण गरि बैशाख १४ गते भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार नआउँदा आज बिहान ७:५० बजे मृत्यु भएको छ ।
खजुराकी ६७ वर्षिय महिलाले बैशाख-१० गते मेडिकल कलेजमा पीसीआर परीक्षण गर्नुभएको थियो । १२ बैशाखमा अस्पतालमा भर्ना हुनुभएका उहाँको स्वास्थ्यमा सुधार नआउँदा भेरी अस्पतालको आइसोलेसनमा आज बिहान ८ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा उपचार लागि बाहिर जिल्लाबाट आई ज्यान गुमाउनेको संख्या ११० पुगेको छ भने संक्रमणका कारण बाँके जिल्लाका १०७ जनाले समेत ज्यान गुमाएका छन् ।