नेपालगन्जः रातीको करिव पौने एक बजे । भेरी अस्पतालको गेटबाट प्रवेश गरेको एम्वुलेन्स प्रसूति वार्ड तिर लाग्यो । प्रसूति व्यथाले च्यापेकी महिलाको त्यो असह्रय पीडा र चीत्कारले सुनसान त्यो रातलाई गुन्जयमान बनायो ।
दिलु थापा दौडिएर प्रसूति वार्डमा प्रवेश गर्नु हुन्छ । डिउटीमा खटिएका नर्सलाई हात जोडेर भन्नुहुन्छ–‘संक्रमित गर्भवतिलाई सुर्खेतबाट लिएर आएका छौं निकै गाह्रो भएको छ भर्ना गरिदिनु पर्यो हजुर ?’ यहाँ किन लिएको नर्सले उल्टै प्रश्न गर्छिन संक्रमितलाई यहाँ भर्ना हुँदैन् पर बसाउनुहोस् ।
थापा भन्नुहुन्छ–‘प्रादेशीक अस्पताल कालागाउँ सुर्खेतले भेरीमा लैजानु भनेर रिफर गरेको छ हजुर ।’ यहाँ हुदैन मेडिकल कलेज कोहलपुर लैजानुहोस् नर्सको जवाफले उहाँ रन्थलिनु हुन्छ । प्रसूति वार्डको बेञ्चमा संक्रमित गर्भवति थच्क्क बस्छिन् । व्यथाले अराठकराठ उनी चिचाउँछिन । म मर्न लागे बचाउनुहोस् भनेर जोड जोडले कराउँछिन ।
तर उनको चित्कार सुन्ने त्यहाँ कोही हुँदैन् । योनीबाट बगेको रगत पैतलासम्मै पुगेको छ । करिव दुई घण्टा प्रसूति वार्डको बेञ्चमा उनी यसैगरी चिचाइरहिन…छटपटाइरहिन…..।
‘दुई घण्टासम्म हामी भेरीमै बस्यौं गर्भवतिलाई लिएर आएका उहाँका आफन्त दिलु थापाले भन्नुभयो–‘पछि कोरोना फोकलपर्सन तेज वलीसँग सम्पर्क भयो उहाँको समन्वयमा मेडिकल कलेज कोहलपुरको कोभिड आइसोलेसनमा लैजाने कुरा भयो । विरामीलाई एम्वुलेन्समा राखेर कोहलपुरको मेडिकल कलेजको गेटमा लगियो ।
संक्रमित भनेपछि गेटपालेले भित्र जान दिएन् । साढे तीन बजे अस्पतालको गेटमा पुर्याइएकी उनलाई विहान ६ बजेपछिमात्रै अस्पतालले भर्ना गर्यो । उनी करिव तीन घण्टासम्म एम्वुलेन्सभित्रै कराइन्, छटपटाइन् र वेहोस् भइ्न । ‘अस्पताल भित्र लैजादा उनी वेहोस थिइन्’–दिलुले भन्नुभयो । सुर्खेत भेरी गंगा नगरपालिका–११ की २२ वर्षीया मनिषा थापालाई दुई दिन अघिदेखि सुत्केरी व्यथाले च्यापेको थियो ।
त्यसपछि उनलाई नजिकैको रामघाट स्वास्थ्य चौकीमा भर्ना गरियो । तर त्यहाँका स्वास्थ्यकर्मीले प्रादेशीक अस्पताल कालागाउँ पठाए । बुधवार प्रादेशीक अस्पताल भर्ना हुनु भएकी मनिषाको कोभिड रिपोर्ट पोजेटिभ आयो । त्यहाँका नर्सहरुले बच्चा उल्टो छ । दिसा खाएजस्तो छ भने ।
यहाँ शल्यक्रिया नहुने भएकाले तत्काल नेपालगन्ज लैजान सुझाव दिए । दिलुले भन्नुभयो–‘यहाँ त बच्चा नर्मल नै जन्मियो, हामीलाई किन यसरी दुख दिइयो ? धन्न विरामी तलमाथि भएको भए जिम्मा कस्ले लिन्थ्यो ?’ मनिषाको छोरा जन्मिएको छ ।
आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था अहिले नर्मल रहेको चिकित्सकहरुले बताएको पनि उहाँले बताउनुभयो । ‘बचाउन भनेर सुर्खेतबाट ल्याएका थियौं तर यहाँका अस्पतालहरुको गैरजिम्मेवार पनि उतैका अस्पताल जस्तो रहिछ’– उहाँले दुखेसो पोख्नुभयो ।
बाहिर जिल्लाबाट समन्वय नगरि संक्रमित विरामी पठाउने गरेका कारण त्यसलाई व्यवस्थापन गर्न समस्या परेको फोकलपर्सन वलीले बताउनुभयो । उहाँले संक्रमित र गम्भीर अवस्थाका विरामीहरुलाई अस्पतालहरुले भर्ना लिन नमान्नु दुःखद भएको भन्दै जुन जिल्लाका विरामी हुन् त्यही त्यसको व्यवस्थापन गरिनु पर्ने बताउनुभयो ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरका उपनिर्देशक तथा कोभिड अस्पतालका इन्जर्चा डा दिनेश श्रेष्ठ पनि बाहिरी जिल्लाबाट जथाभावि विरामी पठाउने परिपाटीको अन्त्य गरिनु पर्ने बताउनुहुन्छ । ‘यहाँ हामीलाई केही जानकारी नै हुँदैन् एक्कासी विरामी आउँदा त्यसको व्यवस्थापन कसरी गर्ने ?
उहाँ भन्नुहुन्छ–‘संक्रमितको व्यवस्थापनका लागि पूर्वतयारी गर्नु पर्छ ।’ संक्रमितले बेड भरिएका छन् । बेड प्याक भएपछि कसरी भर्ना लिनु उहाँको प्रश्न छ । प्रादेशिक अस्पताल सुर्खेत, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङलगायतका अस्पतालले सामान्य खालका शल्यक्रिया गर्न सक्दैनौ भनेर विरामी पठाउनु गैरजिम्मेवारबाहेक अरु नभएको यहाँका चिकित्सकहरु बताउँछन् । सामान्य शल्यक्रियाका विरामीलाई समन्वय नगरी पठाउँदा विरामीको मृत्यु हुने जोखिम उच्च हुने चिकित्सकहरु बताउँछन् ।