माहामारीमा स्वास्थ्यकर्मीको साथ, घरमै रहेका बिरामीलाई सेवा

    • स्वास्थ्य पेज

  • १५ बैशाख २०७८, बुधबार

होमआइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका कोभिड संक्रमित बिरामीको केयरमा होलस्टिक होम केयरका नर्सिङ सदस्य

नेपालगन्ज: बाँकेमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएपछि अहिले उपचारमा समस्या भैरहेको छ । अस्पतालका बेड खचाखच भरिएका छन् । सामान्य अवस्थाका बिरामीहरुलाई घरमै बसि स्वास्थ्य लाभ गर्नुको अर्को विकल्प छैन । संक्रमण नियन्त्रण बाहिर जादा गम्भीर प्रकृतिका बिरामीहरुको चाप अहिले बढी छ ।

भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा.खगेन्द्र जंग शाह संक्रमित अधिंकाश लक्षण सहितका रहेको र अक्सिजन सर्पोट चाहिनेहरु रहेको बताउनुहुन्छ । सामान्य लक्षण भएका बिरामीलाई घरमै बसि स्वास्थ्य लाभ गर्नुको विकल्प छैन, अहिले गम्भीर बिरामीलाई शैया अभाव छ ,उहाँ थप्नुहुन्छ -गम्भीर बिरामीलाई बचाउन पनि सामान्य बिरामीलाई घरमै बस्न सल्लाह दिन्छौ ।

संक्रमण समुदायमै फैलिएको र उपचारका लागि बिरामीले सास्ती खेप्नु परेको पिडा देखेपछि अहिले स्वास्थ्यकर्मीहरुले होम आइसोलेसनमा रहेका बिरामीहरुको पनि सेवा सुरु गरेका छन् । घरमै बसेका बिरामीहरुलाई रगत जाँच, नर्सिङ केयर लगायतको सुविधा नहुँदा समस्या भैरहेको भन्दै यहाँका स्वास्थ्यकर्मीहरुले यी सेवाहर घरमै पुगेर दिने निर्णय गरेका हुन् । व्यक्तिगत र संस्थागत रुपमा घरमै स्वास्थ्य लाभ गरिरहनुभएका बिरामीहरुको सेवाका लागि स्वास्थ्यकर्मीहरु अगाडी सरेका हुन् ।

विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुले समेत समस्या भएका बिरामीहरुलाई नि:शुल्क परामर्श दिन तयार रहेको जनाएका छन् । फोन, म्यासेज, भाइबर लगायतमा बिरामीका लागि चिकित्सकहरु हाजिर हुनेछन् । मंगलबार नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डा.आसिम किदवाईले सामाजिक सन्जाल मार्फत यो कठीन समयमा अस्पतालमा शैया अभावले घरमै बसेर स्वास्थ्य लाभ गरिरहनु भएकाहरुको सेवाका लागि स्वास्थ्यकर्मीहरु तयार रहेको जानकारी दिदै एउटा जानकारी सहितको स्टाटस पोस्ट गर्नुभएको छ ।

होम आइसोलेसनमा रहनुभएका कोभिड संक्रमित र असहज यो परिस्थितिका कारण अस्पताल सम्म पुग्न नसकेका बिरामीहरुको केयरका लागि नेपालगन्जमा रहेको होलस्टिक होम केयरले नर्सिङ केयरको सुविधा दिनेछ । सेन्टरले २४ सै घण्टा नर्सिङ केयरको सुविधा उपलब्ध गराउने यसका सन्चालक सुमन गिरीले बताउनुभयो ।सेन्टरका नर्सहरु अस्पतालमा नियमित डिउटी गरेर आराम गर्ने समयमा यसरी घरघरमै गएर सेवा दिन्छन् ।

स्वास्थ्य पेजसँग कुरा गर्दै गिरीले आफुहरुले पहिले देखिनै नियमित सेवा दिईरहेको भएपनि अहिले कोभिडका बिरामीहरुलाई समेत सेवा दिन सुरु गरिसकेको बताउनुभयो । अस्पतालका फिजिसियन डा.आसिम किदवाईसँगको कुराकानी पछि अस्पतालमा शैया नपाएर घरमै स्वास्थ्य लाभ गरिरहनुभएका , सामान्य लक्षण भएका बिरामीहरुलाई सेवा दिइरहेको उहाँले बताउनुभयो ।

हामीले अहिले २५ बढी बिरामीहरुलाई सेवा दिइरहेका छौ, समस्या भए दिनरात सबैलाई सेवा दिन तयार छौ, नआत्तियर बस्नुहोस् गिरीले भन्नुभयो । होलेस्टिक होम केयरले २४सै घण्टा नर्सिङ केयरसँगै स्टिच रुमुभल, ड्रेसिंग, भ्याक्सीनेसन, फिजियोथेरापी, काउन्सिलिङ, लगायत कोभिडका बिरामीलाई चिकित्सकको निर्देशन अनुसार दिनुपर्ने सम्पुर्ण सेवाहरु दिने गिरीले बताउनुभयो । ८ किलोमिटरको स्थानसम्म आफै जान सक्ने र कोहलपुर, खजुरासम्मका बिरामीको लागि आफन्त आएर लिन सहयोग गरे जान सकिने उहाँको भनाई छ ।

यस्तै घरमा बस्दा रगत जाँच, अन्य आवश्यक जाँच लगायतमा पनि ठूलै समस्या पर्ने गर्छ । बिरामीहरुको लक्षण अनुसार हरेक कुराको निगरानी गर्नुपर्ने भएको भएरपनि यो सेवाका लागि बागेश्वरी डाइग्नोस्टिक सेन्टरले सेवा दिने भएको छ । सेन्टरका अनुसार कोभिडका बिरामीहरु र अन्य विभिन्न समस्या भएका बिरामीहरुलाई यो समय ल्याब सम्म आउने समस्या हुने भएकाले घरमै पुगेर भएपनि सेवा दिन थालिएको हो ।

सबै प्रकारको रगत जाँचको लागि घरमै गएर स्याम्पल कलेक्सन, कोभिड संकास्पद बिरामीको श्वाब कलेक्सन, लगायतको लागि नआत्तिन सेन्टरले सबेमा आग्रह गरेको छ । । यस्तै होम आइसोलेसनमा रहेका संक्रमितहरुको चासो राख्दै उहाँहरुको समस्या सामाधानका लागि केहि विशेषज्ञ चिकित्सकहरुले नि:शुल्क परामर्श दिने जनाउनुभएको छ ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे, नेपालगन्ज मेडिकल कलेजमा कार्यरत फिजिसियन डा.आसिम किदवाई , भेरी अस्पतालका फिजिसियन डा.राजेश मण्डल, डा.खगेन्द्र जंग शाह, डा.पारश श्रेष्ठ लगायतले हरेक समस्याको परामर्शका लागि भाइबर , फेसबुक म्यासेन्जर लगायतबाट परामर्श दिने सामाजिक सन्जाल मार्फत जानकारी दिनुभएको छ ।

घरबाटै सेवा लिन सम्पर्क कसरी गर्ने ?
— नसिर्ङ केयर लगायतको सेवाका लागि : होलस्टिक होम केयर
      सम्पर्क नं : ९८६८१४७३८९ 
–ल्याब टेस्टहरु,रगत जाँच ,पीसीआर श्वाब कलेक्सन लगायतका सेवाका लागि : बागेश्वरी डाइग्नोस्टिक सेन्टर
बिमल बुढाथोकी : ९८४८१४४०२५

मेडिकल एडभाइज \चिकित्सक परामर्शका लागि

    डा.आसिम किदवाई (फिजिसियन ) , कार्यरत : नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज 

  – फेसबुक म्यासेन्जर र ह्वाट्सएपमा मात्र उपलब्ध -९८५८०२०९८९

   डा.राजन पाण्डे (प्रमुख कन्सल्टेन्ट फिजिसियन) , कार्यरत: भेरी अस्पताल नेपालगन्ज

 – भाइबर र ह्वाट्सएपमा मात्र उपलब्ध – ९८४१८९५५९१

   डा.राजेश मण्डल(फिजिसियन ) , कार्यरत: भेरी अस्पताल नेपालगन्ज

  – भाइबर र ह्वाट्सएपमा मात्र उपलब्ध – ९८४९८८१६६१

   डा.खगेन्द्र जंग शाह (फिजिसियन ) ,कार्यरत: भेरी अस्पताल नेपालगन्ज

   – फेसबुक म्यासेन्जर,भाइबर ,ह्वाट्सएपमा  मात्र उपलब्ध – ९८५११४७४९७

        बालबालिकाको समस्याको परामर्शका लागि
    डा.रोमा बोरा  (बालरोग विशेषज्ञ) कार्यरत : नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज

     -फोन ,भाइबर र ह्वाट्सएपमा उपलब्ध  – ९८४८०२८४९९
(उहाँहरुको नम्बरहरु उहाँहरुले सामाजिक सन्जाल मार्फत सार्वजनिक गरिसक्नुभएको भएर यहाँ राखिएको हो ।)

  • १५ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech