नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा थप ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा ४७६ जनाको नमुना परिक्षण गर्दा ८०.५ प्रतिशत अर्थात ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
अस्पतालका अनुसार संक्रमण पुष्टि हुनेहरु अधिकाशं २० देखि ४० वर्ष उमेर समुहका हुनुहुन्छ । २० वर्ष मुनिका पनि ५२ जनामा कोभिड संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बैशाख १२ गते संकलित नमुना परिक्षण गर्दा कोभिड पुष्टि भएका ३८३ जना मध्य २०६ जना पुरुषहरु हुनुहुन्छ भने १७७ जना महिला हुनुहुन्छ । जिल्लागत रुपमा बाँकेबाट सबैभन्दा बढी २९९ जना संक्रमित थपिएको अस्पतालले जनाएको छ ।
विगत एक हप्तादेखि अस्पतालको पीसीआर प्रयोगशालामा संक्रमण पुष्टि हुनेहरुको संख्या करिब यस्तै यस्तै छ । समुदाय स्तरमै संक्रमण फैलिसकेको भएरपनि संक्रमित संख्यामा कमि आउन नसकेको चिकित्सकहरुको आँकलन गरेका छन् ।
स्थानिय प्रशासनले जिल्लामा बढ्दो कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिले लकडाउन गरिरहेको छ । जिल्लाका तीन वटा प्रयोगशालामा पीसीआर विधिबाट र जमुनाह नाका स्थित हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोभिड संक्रमण परिक्षण भैरहेको छ ।
हिजो नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा १८८ नमुना परिक्षण गर्दा १४५ जनामा, बागेश्वरी ल्याबमा १६९ नमुना परिक्षण गर्दा १०९ जनामा र जमुनाह नाकामा १६ जनाको परिक्षण गर्दा २ जना गरि २५६ जनामा संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालको प्रयोगशालाले भने ३६ घण्टाको रिर्पोट आज दिएको हो ।