नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचार भैरहेको भेरी अस्पतालमा एकजना, नेपालगन्ज मेडिकल कलेजमा १ जना र १ जनाको होम आइसोलेसनमा गरि तीन जनाको मृत्यु भएको जिल्लाका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।
भेरी अस्पताल नेपालगन्जमा बढैयाताल गाउँपालिका-८ बर्दियाका ४३ वर्षिय पुरुषको संक्रमणकै कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । स्वास्थ्यमा समस्या आएपछि बैशाख १२ गते हिजो नेपालगन्ज मेडिकल कलेजमा पीसीआर परिक्षण गर्नुभएका उहाँको मेडिकल कलेजबाट थप उपचारका लागि भेरी अस्पतालमा पुर्याय लगत्तै सोमबार दिउँसो १२ बजे मृत्यु भएको हो ।
त्यस्तै नेपालगन्ज मेडिकल नेपालगन्जको प्री आइसोलेसनमा हिजो बैशाख १२ गते भर्ना हुनुभएका नेपालगन्ज उप-महानगरपालिका-४ का ५५ वर्षिय महिलाको आज सोमबार दिउँसो २:३५ बजे कोभिड संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
उहाँको हिजो साझँ ५ बजे मेडिकल कलेजमै पीसीआर परिक्षण गरिएको थियो । यसैबिच होम आइसोलेसनमा बस्नुभएका खजुरा गाउँपालिका-२ बाँकेका ८८ वर्षिय वृद्धको समेत आज मृत्यु भएको छ । बैशाख ४ गते नेपालगन्ज मेडिकल कलेजमा उपचारका लागि भर्ना हुनुभएका उहाँको बैशाख ५ गते पीसीआर परिक्षण गरिएको थियो ।
बैशाख १२ गते आफन्तले होम आइसोलेसनमा राख्ने भनि लगेकोमा आज ४ बजे उहाँको मृत्यु भएको कोभिड फोकलपर्सन वलीले जानकारी दिनुभयो ।
योसँगै बाँकेमा बाहिर जिल्लाबाट उपचारका लागि आएका १०५ जनाको हालसम्म मत्यु भएको छ भने कोरोना संक्रमणका कारण बाँकेकै ८९ जनाले हालसम्म ज्यान गुमाएका छन् ।
आज बिहान मात्र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोहलपुर ५ बाँकेका ४५ वर्षिय महिलाको मृत्यु भएको थियो ।