चिकित्सकहरुको कुरा कहिले सुन्ने सरकार ?

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७८, सोमबार

होम आइसोलेसनमा बसेको छु । संक्रमण पुष्टि भएपछि कोभिड जित्ने आत्मविश्वासका साथ म जस्ता सयौं सर्वसाधारणहरु आइसोलेट हुनुहुन्छ । होम आइसोलेसनमा बसेको भएपनि जिल्लाले खेप्नु परेको सास्तीले गर्दा मन खुसी पक्कै छैन । संक्रमणका कारण करिब थला परिसककेको बाँकेमा कसैको आँखा नपर्दा अझ कति नमज्जा लाग्दो रहेछ ।

सामाजिक सञ्जाल मार्फत स्वास्थ्यमन्त्री, प्रधानमन्त्रीसँग कुरा भएको र सहयोग गर्छु भन्नुभएको छ भन्ने मुख्यमन्त्री ज्युको स्टाटस देखेको नि साहेत दुईदिन जति भैसक्यो । यो समय त तुरुन्तै एक्सन लिनुपर्ने हैन र ? एकैदिनमा स्थिति नियन्त्रण बाहिर जानसक्छ भन्ने त आँखा अगाडि नै देखियो नि ?

जिल्लामा करिब शुन्यमा झरेको संक्रमण दर अस्वभाविक रुपमा बढ्न थालेपछि चिकित्सकहरुले समयमै आवश्यक निर्णय लिन नसके स्थिति बिग्रन सक्छ भन्दै अन्र्तवार्ता दिदा, सम्बन्धीत निकायलाई सुझाउँदा वास्ता नगरेको प्रतिफल हैन त यो ? होली पर्वबाट संक्रमण नियन्त्रणमा आइनसकेको करिब थाँहा हुन आटिसकेको थियो ।

त्योबेला पनि चिकित्सकहरुले सावधानी अपनाउँन आग्रह गरे । होलीको भिडभाड पनि रोकिएन । होली सकियो त्यति बिग्रेको केहि थिएन, नयाँ वर्ष आउँदै गर्दा त अस्पतालमा बिरामी आउने संख्या र संकास्पदहरु अधिक देखिदा चिकित्सकहरुले अब समुदायमा फैलन सक्ने खतरा आँकलन गरिसकेका थिए ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे, जो कोरोना संक्रमित बिरामीको उपचारमा निरन्तर लागिरहनुभएको छ, उहाँले नयाँ वर्षको केहिदिन अघिनै सेमि लकडाउन र स्कुल कलेज बन्द गर्नुको विकल्प छैन भनेर भन्नुभएको थियो । समयमै यो कुरामा ध्यान नदिने हो भने स्थिति नियन्त्रण बाहिर जान्छ, प्रशासनले नयाँ वर्षका भेला, जमघट, कार्यक्रम रोक्न पर्छ भनेर उपचारमा दिनरात लागिरहेका चिकित्सकहरुले भनेको सुन्नु पर्थेन ?

प्रश्नहरु धेरै छन् । डा.पाण्डेले भनेको एक हप्ता पनि हैन ४ दिनमै संक्रमण दर यसरी बढ्यो कि जिल्ला कोभिडले थलियो । संक्रमण अस्वभाविक रुपमा बढिरहदा अस्पतालका अर्का फिजिसियन डा.खगेन्द्र जंग शाहले पटक पटक भन्नुभएको थियो, लकडाउनको विकल्प छैन भनेर । तर उहाँलाई पनि कसैले सुनेन । अति भएपछि डा.शाहले फेसबुकमा एउटा स्टाटस नै लेख्नुभयो, उक्त स्टाटस यस्तो थियो- “अझै कहिलेसम्म कुर्ने हो । अवस्था नियन्त्रण बाहिर गईसक्यो । मान्छेहरु बेड नपाएर सडकमै मर्नुपर्ने दिन कुरिराको हो हामीले ?”

उपचारमा संलग्न चिकित्सकहरुको कुरा सुनेको भए, केहि हदसम्म यो स्थिति आउथेन होला। सुरुदेखिनै अस्पतालका विरामीको उपचारमा रहनुभएका एनेस्थेसियोलोजिस्ट डा.पारश पाण्डे ,भेरी अस्पतालका मेसु डा.प्रकाश बहादुर थापा लगायतले पनि भन्नुभएको थियो ,चेन ब्रेकको विकल्प छैन, त्यसका लागि मानिसको मुभमेन्ट रोक्नुपर्छ । स्वास्थ्य आपत आएको बेलापनि चिकित्सकहरुको कुरा सुनिदैन भन्ने कहिले सुन्ने ?

प्रशासनले ढिला गरेर भएपनि लकडाउन गर्यो, सुरुमा नेपालगन्ज उप-महानगरपालिका र आजराती १२ बजेपछि पुरै जिल्ला । अहिले अस्पतालका शैया भरिभराउ छन् । कोभिड संक्रमितको उपचारका लागि १४२ शैया राखेको भेरीले २०० बढीलाई सकि नसकि उपचार दिइरहेको छ । मेडिकल कलेज पनि करिब भरिभराउछ । अहिले चिकित्सकहरुले बिरामीहरुको उपचारमा समस्या भएको बताउँदै आएका छन् ।

अस्पतालमा शैया थपेर मात्र हुदैन, म्यानपावर छैन भनेको कसले सुन्ने हो ? सुनिसकेको हो भने यस्तो महामारीमा कसको बाटो कुरेर बसेको हो ?यस्ता प्रश्नले पिडा दिनेगर्छ । एकजना नर्सले ३० बढी बिरामीहरुलाई हेर्नुपर्दा के होला हालत ? अनि बिरामीले कसरी पाउँछ प्रभावकारी उपचार ? यसतर्फ अब तुरुन्तै सोचिएन भने स्थिथि झन् नाजुक हुने कुरामा दुईमत छैन ।

अस्पतालमा अक्सिजन लगायतका लागि सहयोगको अभियान चल्दै गर्दा डा.राजन पाण्डेले केहिदिन अघि, कोहि मनकारी भए जनशक्ति सहयोग गर्नुहोस् भनेको कसले अनि कहिले सुन्ने हो ? मृत्युदर बिस्तारै उकालो लागिरहेको छ । दिन प्रतिदिन युवा अवस्थाकै बिरामीहरु अस्पतालका शैयामा अन्तिम श्वास फेरिरहेका छन् । कठै सरकार बैठक बस्दै ठिक्क छ ।

नेपालगन्जमा यो अवस्था आउँदा सम्म स्वास्थ्यमन्त्रीको आवाज सुनिएको छैन। स्वास्थ्य मापदण्ड पालना भएन भन्दै कडा गर्न निर्देशन दिने प्रधानमन्त्री ज्यूले आफु जाने कार्यक्रममा मास के कति छ, वास्ता गर्नुहुन्न। अब जे भयो भयो संक्रमण नियन्त्रण बाहिर छ, ढिला नगरि जनशक्ति व्यवस्थापन गरौ । अक्सिजन सहितका बेडहरु थपेर मात्र के गर्नु जनशक्ति नभए । कम्तीमा स्थानिय प्रशासन पनि स्वास्थ्यको विषय भएको भएर चिकित्सकहरु, स्वास्थ्य विज्ञहरुको सल्लाहमा हिड्दा माहामारीको लडाईमा जित निश्चित होला । हैन भने हेर्ने र मृत्यु गन्दै बस्नुको विकल्प रहदैन ।

माहामारीमा निरन्तर बिरामीहरुको उपचारमा संलग्न सम्पुर्ण स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, फर्मासिस्ट लगायत सबैमा उच्च सम्मान ।
लेखक कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेक एक संक्रमित हुन् ।

 

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech