नेपालगन्जः कोरोनाको हटस्पट बनेको बाँकेमा स्थानीय पालिकाहरुले कोभिड अस्पताल संंचालनमा ल्याउन सुरु गरेका छन् । कोहलपुर नगरपालिकाले अक्सिजन सहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।
एक जना चिकित्सक, चार जना नर्स गरी आवश्यक स्वास्थ्यकर्मीको पदपूर्ति समेत गरिएको अस्पतालमा हाल नगरपालिकाका १२ जना संक्रमित आइसोलेसनमा भर्ना भएका नगरपालिका प्रशासन प्रमुख छविलाल नेपालीले जानकारी दिनुभयो ।
बिरामीलाई औषधि खर्च समेत निः शुल्क गरिएको छ । २५ बेड क्षमता भएको अस्पताल व्यवस्थापनमा झन्डै ३५ लाख रुपैयाँ खर्च लागेको उहाँले बताउनुभयो । अस्पतालमा रेडक्रससँग भाडामा लिएको एम्बुलेन्स समेत छ । त्यस्तै, ४ वटा ठूला खाले अक्सिजन सिलिन्डर प्रयोग भइरहेको छ ।
अस्थायी कोभिड अस्पतालमा खटिएका डा सन्तोष बिसीले भेन्टीलेटर बाहेकका मध्यम खाले संक्रमितलाई अस्पतालमा भर्ना गर्न सकिने बताउनुभयो ।
यस्तै खजुरा गाउँपालिकाले पनि अक्सिजनसहितको ५० बेडको आइसोलेसन संचालनमा ल्याएको छ ।
जनक शिक्षा सामाग्रीको भवनमा ४० वेडको र राधापुर स्वास्थ्य चौकीमा १० बेडको आइसोलेसन संचालनमा ल्याइएको पालिका अध्यक्ष किष्मतकुमार कक्षपतिले जानकारी दिनुभयो।