नेपालगन्ज:भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा थप एकजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका-१२ का ५५ वर्षिया महिलाको भेरीको आइसोलेसनमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
स्वास्थ्यमा समस्या आएपछि चैत्र ३१ गते बागेश्वरी ल्याबमा पीसीआर परिक्षण गर्दा उहाँमा कोभिड संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालको आइसोलेसनमा बैशाख ६ गते भर्ना गरेर उपचार सुरु गरेको भएपनि बैशाख-११ गते अर्थात आज शनिबार बिहान ८:४५ बजे उहाँको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
योसँगै कोभिड संक्रमणका कारण जिल्लामा ज्यान गुमाउनेहरुको कुल संख्या ७७ पुगेको छ । यसअघि गएको २४ घण्टामा मात्र बाँकेमा ७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।