मौसम परिवर्तन अर्थात् चिसो सकिएर हल्का तातोयाम आउन लागेको छ। यही समयमा स्वास्थ्यमा विकराल समस्याहरू देखिन सक्छन् । यो रोक्न यो बेला गरिने आहारको भूमिका झनै रहन्छ ।
विकृत वायु, जलको उपज तथा स्वास्थ्यवृत्त-सद्वृत्तको अपलानले शरीरको प्राकृतिक प्रतिरोधी क्षमतामा ह्रास यतिबेलै आउन सक्छ । ज्वरो, फ्लु, रुघाखोकी र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि समेत खानपानले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । अझ अरूचि, अपच, अजीर्ण भएर विकराल समस्या उत्पन्न समेत हुन सक्छ । त्यसैले पनि आयुर्वेदका सामान्य नियम सँगसँगै तल दिएका सुझावहरू मनन गरौं ।
१. प्रशस्त रूपमा उमालेको पानी पिउने
शरीरमा पानीको मात्रा कम भएर आउन सक्ने जोखिमबाट बच्न दैनिक कम्तीमा ६ गिलास पानी पिउनुपर्छ । चिसो बिस्तारै हट्ने क्रम जारी रहेको तर पूर्ण रूपमा नहटिसकेको हुनाले हामी पानी पिउन कञ्जुस्याइँ गर्छौं । जसका कारण छाला सुक्खा हुने, पिसाब नलीमा र पिसाबमा हुने संक्रमण, मिर्गौलामा पत्थरी हुने जस्ता जोखिमहरू बढ्छ ।
२. दिनचर्या एवं रात्रिचर्याको पालना गर्ने
ब्रह्ममुहूर्तमा उठ्नेदेखि मलोत्सर्ग एवं गुद प्रक्षालन,आचमन,दाँत माझ्ने, अञ्जन, नस्य, गण्डुष, कवल, पुष्पसाधन, अभ्यङ्ग, व्यायाम, उद्धर्तन, जलस्नान, भोजन क्रियाहरू समयअनुसार गर्ने गर्नुपर्छ ।
३. रेसादारयुक्त फलफूल तरकारी बढी खाने
हरिया सागसब्जी, तरकारी तथा ताजा फलफूल स्वस्थ रहन प्रकृतिको अत्युत्तम उपहार हो। तर आजकल मानिस सागसब्जीभन्दा बढी अरू नै प्रयोग गर्छन्। नतिजा कब्जियत हुन्छ र समस्या आउँछ। हरिया सागसब्जी र मौसम अनुसारका फलफूलमा आन्द्रा सफा गर्न चाहिने रेसा प्रशस्त हुन्छ। यसको दैनिक प्रयोगले शरीर सफा हुन्छ र हलुका हुन्छ। यसले आँखा तेजिलो हुने,शरीरलाई जाँगरिलो बनाउने काम गर्दछ।
४. प्रतिरक्षा प्रणाली बलियो बनाउने खाना
भिटामिन सी पाउने सुन्तला, निबुवा, किबी,कागती जस्ता फलफूलहरूमा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ र फ्रि रेडिकल्सलाई निस्तेज पार्छ। जसका कारण रोग उत्पन्न हुन नदिन यसको सहयोगी भूमिका रहन्छ ।
५.प्रोटिनको खपत बढाउने
बिहान–बेलुकी हल्का चिसो नै हुने हुँदा यो मौसममा धेरैजसोले दैनिक व्यायाम गर्दैनन् । जसका कारण शरीरको क्यालोरी सजिलै खपत हुँदैन । चिसोबाट बच्न धेरै खानेकुरा खाँदा शरीरमा आवश्यकभन्दा बढी क्यालोरी जम्मा हुन्छ । यो क्यालोरी सन्तुलनमा ल्याउन प्रोटिनयुक्त खाना खानुपर्छ । प्रोटिनयुक्त खाद्य पदार्थको सेवनले भोक कम लाग्छ, जसले गर्दा खाना कम खाइन्छ र क्यालोरी नियन्त्रणमा आउँछ ।
६.तातो खानेकुराहरू बढी खाने
दैनिक प्रयोगमा ल्याइने खानाले शरीरको तापक्रममा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यस्तो मौसम परिवर्तन हुने समयमा तातो खाना सेवन गर्दा शरीरको तापक्रम एक्कासी घटबढ हुँदैन र एकरूपता कायम हुन्छ । शरीरमा ऊर्जा बढाउनका लागि समेत तातो खानेकुरा खानुपर्छ ।
७.पच्न सजिलो खानेकुरा खाने– सबै खाले अप्रशोधित भएका एक दलीय र दुई दलीय अन्नहरू जस्तै चामल, मकै, गहुँ, कोदो, फापर, दाल, गेडागुडी आदि पूर्ण अन्नहरू सजिलै पच्छन् । सबै खाले हरिया सागसब्जी, तरकारी जस्तै रायो साग, चम्सुर साग, मेथी साग, परवल, हरियो सिमी, हरियो बोडी, ब्रोकाउली लगायत पात भएका र पात नभएका हरिया तरकारीहरू अनि प्रकृतिको चुल्होमा पाकेका सबै खाले फलफूल सुपाच्य हुन्छन् ।
तर मैदाबाट बनेका सबै खानेकुरा जस्तै केक, बिस्कुट, पाउरोटी, चाउचाउ, मम आदि पचाउन गाह्रो हुन्छ। माछा, मासु र अन्डाबाट बनेका, दूध र दूधबाट बनेका खाने कुरा पच्न गाह्रो हुन्छ। त्यसै गरी जंकफुड, प्याकेट बनाएका खानेकुरा, पानीपुरी कृत्रिम जुसहरू स्वास्थ्यका लागि लाभदायक हुँदैनन् । यस्ता खानामा शरीरलाई चाहिने रेशा समेत हुँदैनन् । त्यसैले यो मौसम परिवर्तन हुने समयमा यस्ता खानेकुराबाट टाढै बस्नुपर्छ ।