कोराना विरुद्धको खोप: स्वास्थ्य मन्त्री भन्छन- ढुक्क भएर खोप लगाउनुहोस

    • स्वास्थ्य पेज

  • १९ फाल्गुन २०७७, बुधबार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले कोरोना भाइरसविरुद्दको खोप लगाउनु भएको छ । खोप लगाइसकेपछि उहाँले सुरक्षित रहेको महसुस गरेको प्रतिक्रिया दिनु भयो ।

 

उहाँले कोरोना भाइरसविरुद्दको यो खोप सुरक्षित रहेकाले सबैले ढुक्क भएर लगाउनुपर्ने बताउनु भयो । २३ गतेदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप लगाउने अभियान सुरु हुने भएकाले आफूले पनि सुरुमा सोही दिनमा लगाउने तयारीमा रहेको जानकारी दिनु भयो। तर संसद अधिवेशन सुरु हुने भएपछि ४ दिन अघि नै लगाउनु परेको जानकारी दिनु भयो ।

उहाँले कोरोना भाइरसविरुद्दको खोपको सहज उपलब्धताका लागि मन्त्रालयले प्रयास गरिरहेको पनि जानकारी दिनु भयो । विश्वभर कोरोना खोपको माग भइरहेकाले नेपालमा पनि सहज रुपमा ल्याउन मन्त्रालयले काम अगाडि बढाइरहेको उहांले बताउनु भयो । उहाँका अनुसार मन्त्रालयले थप ५० लाख डोज खोप खरिदको प्रक्रिया समेत अगाडि बढाइसकेको छ।

सांसदहरुका लागि आजदेखि निजामती अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ। सांसद र संसद भवनका कर्मचारीले शुक्रबारसम्म अस्पतालमा रहेको खोप केन्द्रबाट खोप लगाउन पाउने छन्। संसद सचिवालयले सांसद तथा कर्मचारी गरि १५ सय जनाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाएको छ। सोही अनुसार मन्त्रालयले खोपको व्यवस्थापन गरेको हो।

सांसदहरुलाई खोप लगाउन आज पहिलो दिन प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री त्रिपाठी, सांसदहरु लालबाबु पण्डित, मात्रिका यादव, उमेश श्रेष्ठ, विनोद चौधरी, देवप्रसाद गुरुङ, गणेशकुमार पहाडी, जयपुरी घर्ती लगायतले कोरोना खोप लगाइ सक्नु भएको छ।

  • १९ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech