शरीरले यस्तो संकेत दिन्छ, जब अहिले धेरैलाई मोटोपनको समस्या छ । मोटोपन कसरी नियन्त्रण गर्ने ? यसमा धेरैले अपनाउने विकल्प हो, डाइटिङ । अर्थात उपवास । मोटोपन बढ्नुमा खाना नै जिम्मेवार छ र खानामा कटौती गरेपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने आम बुझाई छ । भलै कतिपय चिकित्सकले यसलाई सही मानिरहेका छैनन् ।
यद्यपि खानामा कटौती गर्ने वा छाक नै छाड्ने क्रम भने उस्तै छ । मोटोपनले गाँज्न थालेपछि अधिकांशले खाना छाड्ने गरेका छन् । जबकी खाना छाड्दैमा मोटोपन नियन्त्रण हुने भन्दा पनि यसले अरु स्वास्थ्य समस्या निम्त्याउने खतरा रहेको चिकित्सकहरुको भनाई छ ।
खासगरी खाना कम खान थालेपछि वा खाना नै छाडेपछि सबैभन्दा पहिले त शरीरलाई आवश्यक पोषणको अभाव हुन थाल्छ । शरीरमा पोषक तत्वको कमी भएपछि कमजोरी महसुष हुन्छ । पेटको दुखाई हुन्छ । महिलामा मासिक स्राव रोकिने वा अनियमित हुने समस्या हुन्छ । खाना छाडेपछि शरीरले केही त्यस्ता संकेत दिन्छ, जुन गलत डाइटिङको कारण हुँदैछ ।
एसिडिटी
डाइटिङका क्रममा मान्छेले खाना छाड्छन् वा कम्ती खाने गर्छन् । यसले गर्दा पेटमा ग्याष्ट्रिक हुने वा पेट दुख्ने समस्या सुरु हुन्छ । यसले के संकेत गर्छ भने, तपाईंको शरीरलाई सही मात्रामा खाना पुगिरहेको छैन ।
बेचैनी
डाइटिङ गरिरहँदा हामीलाई भोक अनुभव पनि हुन्छ । खानेकुराको तलतल लागिरहन्छ । यसले गर्दा हामीमा एक किसिमको वेचैनी हुन्छ ।
एकै पटकमा धेरै खाने
डाइटिङ गर्नेहरुले अक्सर के गल्ती गर्छन् भने लामो समय भोकै रहन्छन् । जब खाना खान्छन्, तब आवश्यक्ताभन्दा निकै बढी खाइदिन्छन् । एकै पटकमा धेरै खाना खाइदिन्छन् । यसले मोटोपन नियन्त्रण हुने भन्दा पनि बढ्ने जोखिम हुन्छ ।
पोषक तत्वको कमी
डाइटिङ गर्नु भनेको खाना छाड्नु होइन । बरु, सन्तुलित र उचित मात्रामा खानु हो । जब डाइटिङको चक्करमा खाना छाड्छौं, शरीरमा आवश्यक पोषक तत्व कमी हुन्छ । आफ्नो शारीरिक गतिविधि अनुसार पनि उचित मात्रामा खाना खानुपर्ने हुन्छ । खानाको मात्रा कम भएमा मोटोपन नियन्त्रण हुने भन्दा पनि शरीर रोगी हुन्छ ।
अनियमित मासिक स्राव
डाइटिङको क्रममा शरीरको मेटाबोलिज्म कम हुन्छ, जसले शरीरमा हर्मोन परिवर्तन हुन्छ । यसले महिलामा अनियमित मासिक स्रावको समस्या बढ्छ । यदि यस्तो संकेत देखिएमा डाइटिङ बन्द गर्नुपर्छ ।