काठमाडौंः एक डोज मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको छ ।
अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले जोन्सन एण्ड जोन्सनको खोपलाई सर्वासाधारणको प्रयोगका लागि केही दिनमै स्वीकृति प्रदान गर्ने सम्भावना छ । योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाउने छन् ।
यसअघि स्वीकृति पाएका फाइजर र मोदेर्नाको खोप अहिले सर्वसाधारणलाई लगाउने क्रम जारी छ । फाइजर र मोदेर्नाको खोप दुई डोज लगाउनु पर्छ । अहिले स्वीकृति पाएको जोन्सन एण्ड जोन्सनको खोप भने एक डोज मात्रै लगाए पुग्छ ।
फाइजर र मोदेर्नाको भन्दा जोन्सन एण्ड जोन्सनको खोप खर्च र भण्डारणका हिसाबले पनि किफायती देखिएको छ । यो खोप अघिल्ला दुई जस्तो फ्रिजरमा नभइर रेफ्रिजिरेटरमा भण्डारण गर्न मिल्छ । खोपलाई स्वीकृति प्रदान गर्ने विषयमा शुक्रबार एफडिएका विज्ञहरु बैठक बस्दैछन् ।