सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा जङ्क फूड निषेध गरेको छ । सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा स्थानीय उत्पादनलाई प्राथामिकता दिँदै ६० प्रकारका खानेकुराको सूचीसमेत सार्वजनिक हुनु एकदमै सकारात्मक कदम हो ।
सरकारको यो कदम कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेमा आशंका छ । कार्यान्वयन गर्न सकियो भने धेरै राम्रो हुन्छ । ७, ८ वर्ष अगाडि पनि स्कुलहरुमा घरबाटै खाजा लैजाने कार्यक्रम सञ्चालनमा आएको थियो । कतिपय स्कुलमा खाजाको बट्टा पनि वितरण गरिएको थियो । तर पछि केही अनुगमन भएन । फेरि स्कुलहरुमा ‘पत्रु खाना’ नै हाबी भयो ।
त्यतिबेला कार्यक्रम सफल नहुनुमा विभिन्न कारणहरु थिए । पत्रु खाना बनाउने कम्पनीहरुले सरकारमा रहेकाहरुलाई पत्रु खाना पनि स्वस्थकर खाना हो भनेर दबाब दिए । पैसा पनि बुझाए भन्ने हल्ला चल्यो । अरु पनि त्यस्ता केही कारण थिए होलान् । जसकाकारण कार्यान्वयन हुन सकेन । त्यही भएर अहिले पनि कार्यान्वयन हुँदैन कि भनेर डर मान्नुपरेको हो । यो डर गलत सावित भएमा निकै राम्रो हुने थियो ।
सरकारले गरेको निर्णय कार्यान्वयनमा हामी सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ । सजिलो, छिटो र मिठोका लागि भनेर बालबालिकालाई पत्रु खाना दिएमा पछि गएर बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन् भनेर बुझाउन जरुरी छ । पत्रु खानाले सानै उमेरमा मुटु, मधुमेह, ब्लडप्रेसरलगायतका रोग लाग्ने सम्भावना उत्तिकै हुन्छ भनेर बुझ्न र बुझाउन जरुरी छ । यी कुरा आमसञ्चारमाध्यमले पनि निरन्तर भन्दै आएका छन् ।
कुनै पनि आमाबुबाले आफ्नो छोराछोरी बिरामी परुन्,स्वास्थ्य खराब होस् भन्ने चाहेका हुँदैनन् । त्यसैले गर्दा अभिभावकलाई बढी बुझाउन जरुरी छ । यसमा एनजीओ आइएनजीओ तथा स्वास्थ्यकै क्षेत्रमा काम गर्नेको भूमिका पनि महत्त्वपूर्ण हुन्छ ।
जसरी, रक्सी र चुरोटको लत लाग्छ, त्यसरी नै पत्रु खानाको लत लाग्ने हो । पत्रु खानामा मिसाइएको एक प्रकारको रसायनले खानेकुरालाई स्वादिलो बनाइदिन्छ । रसाइन मिसाएको खानेकुराले स्वास्थ्यमा नराम्रो असर पार्छ ।
चुरोट खाने मान्छे चुरोट नखाइकन बस्नै सक्दैन । रक्सी खाने मान्छे रक्सी नखाइकन बस्नै सक्दैन । तलतल लाग्छ । पत्रु खानेकुरा खानेलाई पनि पत्रु खानाकै तलतल लाग्छ । चुरोट तथा रक्सीले गर्ने असर जस्तै असर पत्रु खाना खाँदा गर्छ । यस्ता किसिमका समाचार समुदायस्तरमा जानुपर्छ । त्यसैले पत्रु खानेकुरा खानै नदिने बानीको विकास बालबालिकामा गर्दै लैजानुपर्छ । त्यसो गरेमा बानी लगाउन सकिन्छ ।
बानी लगाउनका लागि आमाबाबु, शिक्षक र समुदाय सबैको उत्तिकै देन हुन्छ । पत्रु खानाले स्वास्थ्यमा कसरी नराम्रो असर पार्छ भन्ने देखाउन यस सम्बन्धीका फोटोहरु देखाएर, जानकारी गराउन सकिन्छ । यसले गर्दा अरु स्वस्थकर खानेकुरा खाने बानी गराउन सकिन्छ ।
स्वस्थकर खानेकुरा खाने बानी बसाउनका लागि भान्साको काममा पनि बालबालिकालाई सहभागी गराउनुपर्छ । जस्तै भात, दाल र तरकारी पकाउन लागेको बेला बालबालिकालाई चामल, दाल पखाल्न लगाउनुपर्छ । त्यसो गर्दा बालबालिकालाई आफ्नो मेहनत परेको छ भनेर खान मन लाग्छ । र मिठो मानेर खान्छन् । त्यसैले बालबालिकालाई पनि भान्साको काममा सहभागी गराउनुपर्छ भनिएको हो । स्कुलका शिक्षकहरुले पनि विद्यार्थीहरुलाई स्वस्थकर खानेकुरा खान प्रेरित गर्नुपर्छ ।
स्वस्थकर अन्नलाई नै खानाका विभिन्न आइटम बनाउन सकिन्छ । जस्तै मैदाको मः म पत्रु खाना हो । तर कोदो र फापरको मः म बनाएर खाने हो भने त्यो स्वस्थकर हुन्छ । त्यसलाई शाकाहारी र मांसाहारी दुवै खालको बनाएर पकाउन सकिन्छ ।
मैदाले बनेको पिज्जा स्वस्थकर हुँदैन । तर कोदो फापर तथा आँटाको पिज्जा बनाएर खाँदा स्वस्थकर हुन्छ । धेरै चिल्लो र गुलियो हालेको केक पनि अस्वस्थकर हुन्छ । कोदो, फापर र आँटाको पनि केक बन्छ । शरीरलाई फाइदा पनि गर्छ ।
कोदो फापर जस्ता खानेकुरा अहिले सहर, बजारमा पनि पाइन्छ । सुपरमार्केटदेखि लिएर पसलहरुमा पनि बेच्न राखिएका हुन्छन् । अहिले कोदो, फापर नपाइने समस्या नै छैन । गाउँघर तिर गएको बेला कोदो, फापर ल्याएर सुकाएर, पिसेर राखेर स्वस्थकर खानेकुरा बनाएर खान सकिन्छ ।